नेभिगेशन
राजनीति

एउटै प्रकरणले एमालेमा दुई मत, ओलीलाई प्रश्न गर्ने ‘स्पेश’ स्पष्ट थियो

काठमाडौं– नेकपा विभाजन र त्यसपछि एमाले चोइटिएर नेकपा एकीकृत समाजवादी बनेपछि एकाधिकार प्रयोग गरिरहेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गर्ने स्पेश पाएपछि एमालेमा वैचारिक अनि व्यवाहारिक रुपमा दुई मत देखिएको छ।

यस्तो मत सचिवालय बैठकका दौरान पदाधिकारीबाट देखिएको हो। नेपथ्यमा पनि अध्यक्ष केपी शर्मा ओलीको विपरित मत राख्ने एमालेका अन्य नेताले नयाँ ‘पुलेसो’ समात्ने कोशिश गरिरहेका छन्।

त्यसो त कतिपय जिल्ला र पालिका तहको अधिवेशनमा ओलीले दिएको निर्देशनविपरित सहमति हुन नसक्दा भएका निर्वाचनमा इतर समूहले बिजय निकालेका दृष्टान्त पनि कम छैनन्। 

त्यो मोरङ जिल्ला कमिटी र महानगर कमिटीको अधिवेशन थियो। जहाँ ओलीले दिएको निर्देशन विपरित सहमति नभई निर्वाचन भयो र इतर समूहले प्यानल नै कब्जा गर्न सफल भए।

यहि मेसोमा सचिवालय बैठकमा पनि ओलीमाथि प्रश्न उठ्न थालेको छ। खासगरी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सचिवालय बैठकमा ओलीले सोधेको प्रश्नमा उत्तर दिँदै प्रतिप्रश्न गरिन्। 

सन्दर्भ तत्कालिन शिक्षामन्त्री विद्या भट्टराईको राजीनामा प्रकरण थियो। शिक्षक महासंघको आन्दोलनमा सहमतिका खाका तयार पार्न नयाँ शिक्षामन्त्री रघुजी पन्तले खासै नयाँ विषय ल्याएका थिएनन्। उनले भट्टराईले तयार पारेका ७ बुँदाको आधारमा टेकेर सहमति गराउने कोशिश गरेका थिए। यद्यपि, हालसम्म पनि त्यसले कार्यान्वयनमा नगएसम्म पूर्णता पाउने छैन। 

तर यहि मेसोको प्रसङ्गमा भट्टराईको समर्थन गरी नेतृत्वमाथि प्रश्न गरी सामाजिक सञ्जालमा लेखेको विषय ओलीले शाक्यलाई सोधेका थिए। उच्च स्रोतले भन्यो,‘क्याबिनेटमा काम गरेको, राम्रो काम गरेको एउटा मात्र मन्त्री महिलालाई एमालेले किन निकाल्ने? निकाल्नुको कारण के थियो भनेर शाक्यले प्रतिप्रश्न गर्नुभयो।’

‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा किन दिनुप¥यो? विद्या भट्टराई सक्षम, इमान्दार, उच्च नैतिकता भएको एउटा असल नेता भएको कारणले राजीनामा दिनु परेको हो?’, शाक्यको प्रश्न थियो।

यहि विषयमा सवाल जवाफ हुँदा एमालेमा दुई मत देखियो। 

ओलीले ‘विद्या भट्टराई एउटा सांसदको हैसियतकी मान्छे रहेछन्, मैले मन्त्री बनाएँ। मन्त्री चलाउने क्षमता नदेखाएकाले राजीनामा दिइन्’ भनेका थिए।

त्यसो त एमालेभित्र पनि ओलीको कित्ता छाडी विकल्पमा जानुपर्छ भन्ने नेपथ्यमा अनेक नेता छन्। यसैकारण पनि पूर्वराष्ट्रपति विद्यदोवी भण्डारीलाई अगाडि बढाउने लयमा उनीहरु लागेका छन्। बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलदेखि गोकुल बास्कोटासम्म यो लयमा लागेको उच्च स्रोतले दाबी गरेको छ। 

‘विश्वासका नाममा ओलीले पुराना स्थायी जस्ता पात्रलाई बढी विश्वास गर्ने अनि जसले सहयोग गरेको छ उसलाई क्याम्पबाहिर राख्ने काम गरेका छन्’, एमाले उच्च स्रोतले भन्यो,‘उसले पनि राजनीति नै गरेको हो, स्पेश कायम राख्नका लागि नयाँ नयाँ क्याम्प नबनाउने, नखोज्ने भन्ने हुन्छ र?’
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति