नेभिगेशन
अर्थ विविध

बडिगाडको ढाका उद्योगले पहिचान बनाउँदै

बागलुङ - पाँच वर्षअघि बडिगाड गाउँपालिकाको सहयोगमा स्थापना भएको बडिगाड ढाका उद्योगले पछिल्लो समय आफ्नो बेग्लै पहिचान बनाउँदै गएको छ । ढाका कपडाको महत्त्व बुझाउँदै स्थानीय सरकारले बजारीकरणमा सघाउन थालेपछि यहाँ उत्पादित ढाकको टोपी, सल, झोला तथा अन्य कपडाले बजार पाउन थालेको छ ।

रु. १० लाख लागतमा बडिगाड गाउँपालिकाले पाँच वर्षअघि स्थापना गरेको ढाका उद्योगमा अहिले ६ महिला ढाकाका कपडा उत्पादन गर्न व्यस्त छन् । उनीहरूले उत्पादनअनुसार पारिश्रमिक पाउने गरेको बडिगाड ढाका तथा बुटिक उद्योगका सञ्चालक माया केसीले जानकारी दिइन्। उनले ढाका बुन्न सिकाउन भने निकै समय लाग्ने गरेको बताइन् । पछिल्लो समय ढाकाबाट उत्पादन गरिएको खादा र टोपीको व्यापार फस्टाएको केसीको भनाइ छ ।

मेला, महोत्सव तथा औपचारिक समारोहमा ढाका टोपी र सल मायाको चिनोका रूपमा दिने चलन बढेको छ । ढाकाका कपडा उत्पादन गर्न श्रम र खर्च धेरै लाग्ने भएकाले बजारमा आएका तयारी कपडासँग प्रतिस्पर्धा गर्न मुस्किल भएको छ ।

“मायाको चिनोका रूपमा ढाका टोपी, सल र खादाका अहिले उच्च माग छ, सारी र ब्यागको माग कम छ, एउटै सारी बनाउन १८ दिन लाग्छ, कटन र रेसमको धागो महँगो छ”, केसीले भनिन्, “अहिले उत्पादनको आधा रकममा छ जनाले दैनिक ढाकाको कपडा उत्पादन गर्दै आउनुभएको छ, हातले बुनेको कपडा स्तरीय हुन्छ, कोसेलीका रूपमा विदेश पठाउने चलन छ, तर निकै कमले मात्र ढाकाको महत्त्व बुझेका छन् ।”

बडिगाड गाउँपालिकाले ढाका उद्योग सञ्चालन रहेको कार्यालयको भाडा छुट गरेको छ भने यहाँ उत्पादन भएका सामग्री बडिगाड, जैमिनी नगरपालिका र उद्योग वाणिज्य संघको कोसेली घरले नियमित खरिद गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले रु. दुई लाख अनुदान सहयोग गरेको छ । स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिएमा ढाका उद्योग फस्टाउने महिला उद्यमी निर्मला थापाको भनाइ छ । ढाका उद्योगमा थापासहित यमुना काउचा, बेली थापा, तिर्सना भुजेललगायत ६ जनाले दैनिक ढाकाको कपडाबाट टोपी, सल, साडी, खादा, झोलालगायत सामग्री उत्पादन गर्दै आएका छन् ।

एउटा ढाकाको टोपीलाई रु. सात सय, सारीलाई रु. १२ हजार तथा सललाई रु. सात सयसम्म पर्छ । बडिगाड गाउँपालिकाले स्थानीय उत्पादनलाई प्रोत्साहन दिन पालिकाले नै ढाकाको कपडा खरिद गर्ने, ढाका उद्योगको भाडा मिनाह गर्नेलगायतका काम गरेको गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारीले बताइन् । बागलुङ उद्योग वाणिज्य संघले स्थापना गरेको कोसेली घरमा समेत बडिगाडमा उत्पादन भएका ढाका कपडाका सामग्री बिक्रीका लागि राखिएका  बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध