Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालसँग ऊर्जा सहकार्य अघि बढाउन बंगलादेश तयार

मंगलबार, असोज १, २०८१

काठमाडौँ- बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार प्रा. डा. मोहम्मद युनुसले नेपालसँगको ऊर्जा सहकार्य अघि बढाउन आफू तयार रहेको बताएका छन् ।

बंगलादेशका लागि नेपाली राजदूत घनश्याम भण्डारीसँगको भेटमा युनुसले दुई देशलाई पारष्परिक लाभको क्षेत्रमा हुने ऊर्जा सहकार्यलाई चाँडै अघि बढाउनुपर्ने विषयमा जोड दिएका हुन् ।भेटमा राजदूत भण्डारीले बंगलादेशको अन्तरिम सरकारको प्रमुख सल्लाहकार बनेकोमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पठाएको बधाइपत्र पनि युनुसलाई हस्तान्तरण गरेका थिए ।

राजदूत भण्डारीले ७ अगस्टमा नयाँ सरकारका विषयमा जारी गरेको विज्ञप्ति स्मरण गराउँदै बंगलादेशको नयाँ सरकारप्रति नेपालको ऐक्यबद्धता रहेको दोहोर्‍याएका थिए ।

प्राध्यापक युनुसले नेपालबाट प्राप्त सहयोग र ऐक्यबद्धताप्रति आभार जनाउँदै दुई देशबीच राजनीतिक र जनताको स्तरमा सौहार्द्धपूर्ण सम्बन्ध अघि बढ्ने बताएका थिए ।

भेटमा राजदूत भण्डारीले नेपालबाट भारत हुँदै बंगलादेशमा ४० मेगावाट विद्युत् निर्यात तयारी भइरहेको र यो काम चाँडो हुँदा यस उपक्षेत्रको ऊर्जा सहकार्यमा रूपान्तरणकारी कदम हुने बताए ।

दुवै देशलाई लाभ हुने गरी ऊर्जा सहकार्यमा उनले जोड दिएको बंगलादेशस्थित नेपाली दूतावासले विज्ञप्ति मार्फत जनाएको छ ।

सार्क तथा बिम्स्टेक जस्ता क्षेत्रीय संस्थाको पुनरुत्थान महत्त्वपूर्ण भएको विषयमा पनि दुईबीच छलफल भएको थियो । नेपाल र बंगलादेश दुवै सन् २०२६ बाट अतिकम विकसित मुलुकबाट स्तरोन्नति हुँदै गरेको परिप्रेक्ष्यमा दुई देशले असल अभ्यास र अनुभव आदान प्रदान गर्नु महत्त्वपूर्ण भएको विषयमा समेत प्राध्यापक युनुस र राजदूत भण्डारीबीच कुराकानी भएको थियो ।

हालैको आन्दोलन क्रममा बंगलादेशमा रहेका नेपाली खासगरी विद्यार्थीको सुरक्षामा पाएको सहयोगप्रति पनि राजदूत भण्डारीले प्राध्यापक युनुससँग कृतज्ञता व्यक्त गरेका थिए ।

प्रकाशित मिति: मंगलबार, असोज १, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्