श्रष्टा र साहित्य 

प्रगतिशील राजनीति र साहित्यबाट उदाएका देवराज किन गुमनाम?

शनिबार, वैशाख २२, २०८१

बिराटनगर– सक्रिय राजनीति एकातिर र अर्कातिर प्रगतिशील साहित्यको यात्रा कम कठिन र रोचक भएन, देवराज कार्की ‘मिलन’का निम्ति।  

संखुवासभामा जन्मेर झापाको गौरादह जनता माध्यमिक विद्यालयमा उनले शिक्षाको पहिलो ग्रन्थसहित स्कुले जीवन पूरा गरेका थिए। 

जब बिराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा टेके अनि उनको प्रगतिशील राजनीतिसँगै साहित्यको पनि यात्रा जोडियो। 

उनका हाल सम्म ६ वटा कृति प्रकाशित छ्न।

डाक्टर हेमनाथ पौडेल कार्कीकै संस्मरण “स्मृतिका तरङ्गहरु“को भूमिकामा देवराजबारे लेखिएको छ,‘देवराज कार्कीलाई मैले धेरै पहिलेदेखि चिनेको हुँ। बोली, बचन र ब्यवहारमा निकै खरो लाग्ने, कसैको लोलोपोतो नगर्ने, सहिलाई सहि र गलतलाई गलत भन्ने आँट गर्ने, अरुको खरो आलोचना गर्न पछि नपर्ने र अरुले गरेको आलोचना पनि सहन सक्ने उनको स्वाभाव छ।’

432f609c-642b-49b1-853a-630083fab05b-1714797275.jpg

त्यही भएर राजनीतिमा त्याग गरे तर चाप्लुसी नगर्दा अवसर पाएका छैनन्। कार्की कथा, कबिता, नाटक, संस्मरण, निबन्ध लेख्न पोख्त छन्। 

उनका फुटकर कथा कविता निबन्ध विभिन्न साहित्यिक पत्रपत्रिकामा पढ्न पाइन्छ। प्रगतिशील पत्रपत्रिका जुन बेला पञ्चायती तानाशाही ब्यवस्था थियो त्यो बेला संकल्प, झिसमिसे, अक्षलोक र साप्ताहिक पत्रिका रातो युगधारा, छलफल, चित्रणमा पढ्न पाइथ्यो। ‘बीचमा केही समय सुस्ताएको महसुस पनि भयो तर ती ब्यबहारिक कारण थिए’, देवराज भन्छन्।

स्मृतिका तरङ्गहरु संस्मरणको आफ्ना कुरामा उनले लेखेका छन्,‘मेरो लेखनमा छलकपट छैन। मेरो आदर्श नै स्वाभिमान हो। त्यसैलाई उच्च ढंगले अंगालेको छु। अलि खरो छु तर सत्य छु।’

b8be3652-ed96-498e-b060-dc7b3ad059c3-1714797325.jpg

२०४० सालतिर प्रकाशित कथा संग्रह “रगत पोखिएको धर्ती’’को भूमिकामा डाक्टर स्व. गोबिन्द भट्ट कथाकार कार्कीबारे लेख्छन्,‘देवराजका कथाहरु पढ्दा हामीलाई उहाँमा सफल उपन्यासकारका गुण र विशिष्टताहरुको पनि प्रशस्त झलक मिल्दछ।’’

बाल्यकालदेखि नै लेखन, नाटकमा अभिनय गर्न, चुट्किला भनेर हसाउन एक रौसे ब्यक्ति हुन्। कबिता संग्रह “महामारीका योद्धा“को आफ्नै गनथनमा लेखेका छन्,‘प्राथमिक तह उतिर्ण गरेर हाइस्कुल गौरादह जमाबि पढ्न थालेपछि मेरो अरु क्षेत्रमा समेत सक्रियता बढ्यो। स्कुलको बार्षिक उत्सब हुन्थ्यो म त्यहाँ हुन्थे। मैले १० सकेर स्कुल छोड्दासम्म प्रायः कपी कलम खरिद गरिन। हरेक क्षेत्रका पुरस्कारबाट प्राप्त कपी कलमले नै मलाई यथेष्ट पुग्थ्यो।’

२०५४ सालमा प्रकाशित कविता संग्रह “मेरो देश’’को भूमिकामा  पिताम्बर भोला लम्साल लेख्छन्,‘मेरो देश कविता संग्रह राम्रोसँग पढें यसका प्रत्येक कविताहरु नेपालमा बग्ने स्वच्छ बेगिला नदी जस्तै सललल बगेका सरल, सरस, सुवोध, प्रवाहमयी शैलीमा प्रवाहित छन्।’ 

भाषाविद डाक्टर अमर गिरिको नजरमा “प्रगतिशील चेतना र त्यस आधारमा यथार्थको काव्यात्मक अभिव्यक्ति कवि देवराज मिलनको विशेषता हो।’’ 
लघु कथा, नीति कथा, हाइकु, मुक्तक, गजल हर क्षेत्रमा उनको कलम चल्छ। उनले लोककथा र गीत पनि लेखेका छन्। यस्ता साहित्यकार अहिले गुमनाम जस्तै छन्।  
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  १०:२१
प्रतिक्रिया दिनुहोस्