माधव नेपालले प्रधानमन्त्री पाए यो सत्ता समीकरणबाट अलग हुने निचोड, नयाँ समीकरणको खुलासा

शनिबार, वैशाख २२, २०८१

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पाउने विकल्प अगाडि आए अहिलेको सत्ता समीकरणबाट अलग हुने निचोड निस्किएको छ। 

नेकपा एमाले, नेकपा माओवादी केन्द्रले गरेको सहमतिअनुसार राष्ट्रिय सभाको उपाध्यक्ष र एक सदस्य नदिएपछि असन्तुष्ट रहेको एकीकृत समाजवादीका अध्यक्ष नेपालले नेपाली कांग्रेससँगको सम्बन्धलाई बिगार्न नहुने बताएका थिए, यसैकारण। 

उक्त पार्टीका उपाध्यक्ष राजेन्द्र पाण्डेले नयाँ समीकरणको पहल भइरहेको पनि बताएका छन्। 

आफ्नो पार्टीको तर्फबाट उनले नयाँ समीकरणको पक्षमा दलहरूलाई मनाउन संवाद गरिरहेको बताइएको छ।

हालसालै जनता समाजवादी पार्टी (जसपा) का उच्च नेताहरूसँग उनले छलफल गरेर नेता नेपाललाई प्रधानमन्त्री बनाउने गरी नयाँ राजनीतिक विकल्पको बारेमा छलफल भएको थियो। 

केही नयाँ कुरा हुँदैछ भनेर माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि अत्तालिएको बताइन्छ। 

प्रचण्डले समेत आफूले साथ दिँदा नेता नेपालको नेतृत्वमा नयाँ सरकार बन्ने परिस्थिति आएमा आफू बाधक नबन्ने सङ्केत गरेको समेत कतिपयले बताउने गरेका छन्।

पाण्डेले प्रचण्ड राजनीतिक र निजी रूपमा अस्थिर रहेको आरोप लगाउँदै उनको विश्वास नभएको बताइसकेका छन्।

अहिलेको सत्ता समीकरणमा कमजोर बहुमत रहेको आँकलनबीच नयाँ विकल्पबारेको अभ्यासलाई जारी राखिएको बताइन्छ। जसपा पनि अहिलेको समीकरण छाड्ने स्थिति आए नेपाली कांग्रेसको समर्थनमा नयाँ सरकार बन्न सक्ने गणित बन्ने स्थिति छ। 

एकीकृत समाजवादी र जसपा गरी अहिलेको सरकारमा २२ सांसदको समर्थन पनि रहेको छ। यो समर्थन फिर्ता जानासाथ अहिलेको सरकार अल्पमतमा पर्न जान्छ। 
सरकारमा रहेको १५६ जनाको विश्वासको मतमा २२ जना फर्कँदा १३४ मात्र हुन्छ। जहाँ बहुमतका लागि कम्तिमा १३८ मत चाहिन्छ। उच्च स्रोतले भन्यो,‘कुनै पनि बेला सरकारको समीकरणमा बदलाव आउन सक्छ, नयाँ विषय नै होइन।’ 
 

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  ०९:४३
प्रतिक्रिया दिनुहोस्