इलाम र बझाङमा उपनिर्वाचन : मतदातामा देखिएन उत्साह, ०७९ मा भन्दा कम मत खस्यो

शनिबार, वैशाख १५, २०८१

 इलाम - इलाम र बझाङको उपनिर्वाचनमा मतदान सकिएको छ । दुवै स्थानमा ०७९ को निर्वाचन भन्दा कम मत खसेको छ । 

इलाममा गत ०७९ को निर्वाचनमा ५९.७८ प्रतिशत मतदान भएको थियो । यो पटक जम्माजम्मी ५८ प्रतिशत मत खसेको हो । निर्वाचन आयोगका अनुसार इलाम २ मा एक लाख १६ हजार ८८९ मतदाता छन् । 

आज मतदान भएको बझाङको प्रदेश सभा क्षेत्र नं. १ पनि अघिल्लो निर्वाचनमा भन्दा कम मत खसेको छ । ०७९ मा भएको निर्वाचनमा ५२.९८ प्रतिशत मत खसेको थियो । यो पटक ५ बजेसम्म ५० प्रतिशत मतदाताले मतदान गरे । अघिल्लो चुनावमा भन्दा यो पटक सो निर्वाचन क्षेत्रमा झण्डै तीन प्रतिशत कम मतदान भएको हो ।

जिल्ला निर्वाचन कार्यलय बझाङका सूचना अधिकारी गोरख केसीले भने, ‘५ बजेसम्म प्राप्त तथ्याङ्कअनुसार यहाँ करिब ५० प्रतिशत मत खसेको थाहा भएको छ । केही स्थानमा भएको मतदान तथ्यांक आउन बाँकी छ ।’

बझाङ प्रदेशसभा १ मा कूल ६१ हजार ७८४ मतदाता थिए । ३१ हजार ५४९ पुरुष र ३१ हजार १९९ महिला मतदाता रहेको सो क्षेत्रमा ०७९ को निर्वाचनभन्दा कम मत खसेको हो । 

इलाम

इलाम प्रतिनिधिसभा क्षेत्र नं. २ मा शनिबार भएको मतदान शान्तिपूर्ण तरिकाले सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ । इलाम-२ मा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १९ उम्मेदवारले चुनावी प्रतिष्पर्धा गरेका छन् ।

जिल्ला निर्वाचन अधिकृत देवीचरण फुँयालका अनुसार इलाम-२ का ६ वटा पालिकाका ४२ वडास्थित १४९ मतदान केन्द्रबाट मतपेटिका संकलन गर्ने काम सुरु भएको छ ।

फुँयालका अनुसार इलाम-२ को मतपेटिका इलाम नगरपालिका-७ स्थित रहेको गौतमबुद्ध सभा हलमा गणना हुनेछ ।

उनले खबरहबलाई भने, ‘निर्वाचन आयोगबाट पनि खबर आएको छ । आजबाट सहमतिको प्रयास मिल्यो भने १२ बजेबाट गणना हुन्छ । चुलाचुली गाउँपालिकाको मत दमक हुँदै बिर्तामोडबाट गाडीमा ल्याउनुपर्ने भएकाले केही असहज हुन सक्ला कि भन्ने छ ।’ 

उनका अनुसार चुलाचुली र माङसेबुङ गाउँपालिका टाढा रहेको तथा भौगोलिक विकटताका कारण मतपेटिका समयमै ल्याएर मतगणना तत्काल थाल्न सक्ने अवस्था छैन ।

इलामबाट ०७९ मा निर्वाचित प्रतिनिधि सभा सदस्य सुवासचन्द्र नेम्बाङको ०७९ भदै २६ गते हृदयघातबाट निधन भएको थियो । उनको निधन भएपछि रिक्त क्षेत्रमा प्रतिनिधि सभा सदस्यका लागि आज मतदान भएको हो ।

बझाङ

बझाङ प्रदेश सभा १ को उपनिर्वाचन पनि शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । इलाममा भन्दा बझाङमा प्रतिशतको हिसाबले कम मत खसेको छ । भौगोलिक कारण यहाँ कम मत खसेको हुन सक्ने निर्वाचन आयोगको भनाइ छ । 

मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार भौगोलिक विकटताका कारण आज नै जिल्लामा मतपेटिकाहरू संकलन गर्न नसकिएको हो । 

बझाङको साइपाल गाउँपालिकामा रहेको ५ वटा मतदान केन्द्र मध्ये तीन वटा मतदान केन्द्रको मत हेलिकोप्टरबाट सदरमुकाम ल्याउनुपर्ने कारण शनिबार नै मप पेटिका सदरमुकाम आइपुग्न नसकेको लामिछानेको भनाइ छ । 

लामिछानेले खबरहबलाई भने, ‘साइपाल गाउँपालिकाको धूली, काँडा र एराङकुरीडाँडाको मतपेटिका हेलिकोप्टरबाट ल्याउनुपर्छ । मौसमले साथ दिए धूली र काडाँको मतपेटिका आजै  ल्याउन सकिन्छ । तर, मौसम बदलीका कारण एराङकुरीडाँडाको मतपेटिका ल्याउन नसकिने अवस्था छ ।’ 

उनका अनुसार एराङकुरीडाँडाबाट मतपेटिका मानिसले नै बोकेर हेलिप्याटसम्म ल्याउनुपर्ने हुन्छ । मौसम बदली भएकाले सो केन्द्रको मतपेटिका आजै ल्याउन मुस्किल रहेको उनले दोहोर्‍याए ।

जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी गोरख केसीका अनुसार बझाङमा ९३ वटा मतपेटिका छन् । उनले भने, ‘सबै मतदान केन्द्रमा २–२ वटा मतपेटिका पठाइएको छ । तर मतपत्रले चाहिँ भरिएको छैन होला ।’ 

यो प्रदेशसभा क्षेत्रका सदस्य प्रदेश कानुनमन्त्री पृथ्वीबहादुर सिंहको गत असार ६ गते सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो । 

कसरी ल्याइन्छ इलाम र बझाङको मत पेटिका सदरमुकाम? 

इलामका सहायक निर्वाचन अधिकृत इन्द्रकुमार श्रेष्ठका अनुसार इलामका सबै स्थानबाट आज नै मत पेटिका  जिल्ला ल्याउन पालिकाहरूलाई जिम्मेवारी दिइएको छ । 

निर्वाचन अधिकृत फुँयालका अनुसार मजबुत सुरक्षामा मतपेटिका जिल्ला आएका छन् । उनले भने, ‘पालिका केन्द्रसम्म उप-संकलन (सव कलेक्सन) हुन्छ । पालिका केन्द्रबाट मत गणना स्थलसम्म केन्द्रीय संकलन (सेन्ट्रल कलेक्सन) हुन्छ । अप्ठ्यारा ठाउँबाट सुरक्षा घेरासहित सीधै सदरमुकाममा मत पेटिका ल्याइनेछ ।’ 

सेन्टर कलेक्सनका लागि नेपाली सेना, जनपथ, मत पेटिका बोकेको गाडी, सुरक्षा कर्मी र मतदान अधिकृत खटिएका छन्‌ ।  श्रेष्ठले भने, ‘११ बजेसम्म मतपेटिका आइपुग्छ भन्ने छ । सहमति मिल्यो र सबै राजनीतिक दलहरू जुट्नुभयो भने आजबाट नै मत गणना हुन पनि हुन सक्छ ।’ 

इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार मतदान सकिएपछि जतिसक्दो छिटो मत पेटिका सदरमुकाम ल्याउने प्रक्रिया सुरु भएको छ । 

निर्वाचन आयोगका अनुसार सुरक्षाकर्मीको नियन्त्रणमा इलाम र बझाङको मतपेटिका सदरमुकाम ल्याइएको ल्याइने छ ।  

बझाङको मतपत्र सदरमुकाम चैनपुर जिल्ला अदालतको भवनमा गणना हुनेछ ।  यहाँ पनि इलामकै प्रक्रिया अनुसार मतपेटिका संकलनको काम सुरु भएको छ । 

यता निर्वाचन आयोगका अनुक्त दिनेश थपलियाले आज केही कारण मत गणना गर्न नसके भोलि बिहानबाटै हुने बताइएका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:२६
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार