आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन, ५५ देशका लगानीकर्ता आउने सुनिश्चित

शनिबार, वैशाख १५, २०८१

काठमाडौं - स्वदेशी तथा विदेशी लगानी भित्र्याएर आर्थिक समुन्नति हासिल गर्ने उद्देश्यका साथ सरकारको आयोजनामा आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन हुँदैछ । सम्मेलनमा विभिन्न क्षेत्रका करिब एक सय ५० परियोजना प्रस्तुत गर्ने तयारी गरिएको छ ।


‘इमर्जिङ नेपाल इन्भेष्टमेन्ट समिट–२०२४’ मा स्वदेश तथा विदेशबाट गरेर एक हजार ६ सय जनाभन्दा बढीको सहभागिता सुनिश्चित भएको छ ।


लगानी बोर्डको कार्यालयले उपलब्ध गराएको विवरणअनुसार सम्मेलनका लागि दुई हजार चार सयभन्दा बढी व्यक्तिलाई निमन्त्रणा पठाइएको थियो । विभिन्न ५५ देशका लगानीकर्ता सम्मेलनका लागि आउँदैछन् । सम्मेलनका नेपालका तीन सय ८५ जनाको सहभागिता सुनिश्चित भइसकेको छ ।


त्यसैगरी, चीनका दुई सय ६५, भारतका एक सय ४३, संयुक्त राज्य अमेरिकाका ३३, जापानका २८, संयुक्त अधिराज्यका १४, बङ्गलादेशका १३, संयुक्त अरब इमिरेट्स (युएई) का १३ र जर्मनीका १० जना सहभागी हुँदैछन् । दक्षिण कोरिया, अस्ट्रेलिया र मलेसियाका नौ नौ जना सम्मेलनमा सहभागी हुन लागेका लगानी बोर्डले जनाएको छ ।

पाकिस्तानबाट आठ, सिङ्गापुरबाट ६, कतार र घानाबाट पाँच/पाँच, साउदी अरब, फ्रान्स र बहराइनबाट चार/चार जनाको सहभागिता रहने जनाइएको छ ।

त्यसैगरी, स्विजरल्यान्ड, फिनल्यान्ड, रुस, अस्ट्रिया, श्रीलङ्का र कोलम्बियाका तीन/तीनजना सम्मलेनका लागि नेपाल आउँदैछन् । फिलिपिन्स, कुवेत, क्यानडा, मौरिसस, बेलारुस र बेल्जियमबाट दुई/दुईजना सम्मेलनमा सहभागी हुने सुनिश्चित भएको छ ।

त्यसैगरी, इजिप्ट, नर्वे, इटाली, सेनेगल, नेदरल्यान्ड, पोल्यान्ड, इन्डोनेसिया, ताजकिस्तान, दक्षिण अफ्रिका, रोमानिया, मेक्सिको र साइप्रसबाट पनि सम्मेलनमा सहभागिता रहने छ । आयरल्यान्ड, स्लोभेनिया, भियतनाम, बोस्निया, मोरक्को, टर्की, भानुआटु, मौरिटानिया र हङकङबाट पनि सम्मेलनका सहभागी हुने सुनिश्चित भएको बोर्डले जनाएको छ ।

आइतबारदेखि काठमाडौँमा आयोजना हुने उक्त सम्मेलनका लागि एक सय ५० आयोजना सोकेसमा राखिँदैछन भने सम्मेलनस्थलमा २३ प्रदर्शनी कक्ष (स्टल) राखिनेछन् ।

सम्मेलनका क्रममा विभिन्न १९ परियोजनाका लागि आशयपत्र आह्वान गर्न लागिएको छ । आशयपत्र आह्वान गरिने, सोकेस गरिने, मार्केट साउन्डिङ गरिने र निजी क्षेत्रबाट गरी कूल एक सय ५० परियोजना प्रस्तुत हुनेछन् । पहिलो दिन उद्घाटन सत्र र दुईवटा मुख्य सत्र रहेका छन् । त्यस्तै, दोस्रो दिन ११ समानान्तर सत्र सञ्चालन हुनेछन् ।

लगानीकर्ताको स्वागतका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि सम्मेलनस्थल ताहचलको सोल्टी होटलसम्म स्वागतद्वार निर्माण गरिएका छन् । त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल, नयाँ बानेश्वर, थापाथली, त्रिपुरेश्वर, टेकुलगायत सडकमा ‘लगानीकर्तालाई नेपालमा स्वागत छ’ नारा लेखिएका ब्यानर अङ्कित स्वागतद्वार राखिएका छन् ।

सम्मेलनमा नेपाल सरकार आयोजक र नेपालका निजी क्षेत्र सहआयोजकका रुपमा रहेको छ । स्वागतमा राखिएका ब्यानरमा नेपाल सरकार आयोजक तथा निजी क्षेत्रका छाता सङ्गठनहरु नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्स सहआयोजकका रुपमा उल्लेख गरिएको छ । सम्मेलनको सचिवालयको जिम्मेवारी लगानी बोर्डको कार्यालयलाई दिइएको छ ।

 

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १९:१७
प्रतिक्रिया दिनुहोस्