उपनिर्वाचन अपडेट : इलाम-२ मा २२ प्रतिशत मतदान

शनिबार, वैशाख १५, २०८१

काठमाडौँ- इलाम-२ को उपनिर्वाचनमा अहिले बिहान ११ बजेसम्ममा २२ प्रतिशत मतदान भएको छ । मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले ११ बजेसम्म २२ प्रतिशत मतदान भएको बताएका हुन् । बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्नेछ ।

विभिन्न केन्द्रहरूमा कुनैमा २०, २२ प्रतिशत मतदान भएको छ भने कुनैमा २४ प्रतिशतसम्म मत खसेको घिमिरेले बताए । इलामको दिउँसोको मौसम धेरै गर्मी नहुने देखिएपछि अधिकांश मतदाता दिउँसो मत हाल्न मतदान केन्द्रमा जाने आङ्कलन गरिएको छ ।

इलामको क्षेत्र नं २ मा आज शनिबार भइरहेको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि देउमाई नगरपालिकास्थित देविस्थान आधारभूत विद्यालयमा मतदान गर्न जाँदै ज्येष्ठ नागरिक ।

इलाम–२ मा सुवास नेम्वाङको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि आज उपनिर्वाचन भएको हो । उपनिर्वाचनमा नेपाली काँग्रेस, एमाले, रास्वपा, स्वतन्त्रलगायत गरी १९ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

यो चुनावमा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम भएका छन् । आयोगका अनुसार ५९ हजार १८ पुरुष, ५६ हजार आठ सय ६९ महिला र दुई जना तेस्रो लिङ्गी छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्