सेती लोकमार्ग : १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुल्याे

शुक्रबार, वैशाख १४, २०८१

  कैलाली – कैलालीको टीकापुरदेखि बझाङको उत्तरी सीमा उरै भञ्ज्याङ जोड्ने सेती लोकमार्गको काममा ढिलाइ भएको छ । २०६५/६६ सालमा निर्माण शुरु भएकाे यो लोकमार्ग नेपाल सरकारको प्राथमिकताको आयोजना भनिए पनि काम सुस्त छ ।

पर्याप्त बजेट नहुँदा लोकमार्ग निर्माण शुरु भएको १५ वर्षमा एक सय २६ किलोमिटर मात्र ट्र्याक खुलेको छ । दुई सय चार किलोमिटर लम्बाइ रहेको सडकको ७८ किलोमिटर ट्र्याक खोल्न बाँकी नै रहेको आयोजना कार्यालयले जनाएको छ । कैलाली खण्डमा ७२ किलोमिटरमध्ये तीन किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी छ ।

कैलालीको टीकापुरदेखि चैनपुरसम्म डोटी, बझाङ र अछाममा रेखाङ्कन गरिएका कतिपय ठाउँमा ट्र्याक खोल्न बाँकी रहेको आयोजना प्रमुख पुजन गिरीले बताउनुभयो । उहाँका अनुसार अछाममा ८० किलोमिटरमध्ये २३ किलोमिटर, बाजुराको मेडासैनदेखि राना गाउँसम्मको १२ किलोमिटर ट्र्याक खोल्न बाँकी छ । कतिपय ठाउँमा रुख कटानीका कारण ट्र्याक खोल्ने काम अघि नबढेको हो ।

चैनपुरदेखि उरै भञ्ज्याङसम्म भौगोलिक विकटताका कारण काम गर्न समस्या भइरहेको आयोजना प्रमुख गिरीले बताउनुभयो । सेती लाेकमार्गका लागि चालु आर्थिक वर्षमा १४ करोड रुपैयाँ बजेट विनियोजन भएकाे थियो ।

कैलाली, डोटी, अछाम, बझाङ र बाजुरालाई जोड्दै ताक्लाकोट सीमा नाका जोड्ने यो लोकमार्ग उत्तर–दक्षिण जोड्ने रणनीतिक महत्त्व बोकेको सडक हो । यो लोकमार्ग धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण चीनको मानसरोवर पुग्ने छोटो मार्ग हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १४, २०८१  १८:४८
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार