सुनिल पौडेललाई थुनामा राख्न अदालतकाे आदेश

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ - नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेललाई विशेष अदालतले थुनामा राख्न आदेश दिएको छ। अवैध सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा विशेष अदालतले उनलाई बुधबार थुनामा पठाउने आदेश दिएको हो ।

न्यायाधीशहरू तेजनारायणसिंह राई, रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले उनलाई थुनामा पठाउने आदेश दिएको हो ।

उनीसँग २३ करोड ७५ लाख रुपैयाँ अकुत सम्पत्ति रहेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत आइतबार मुद्दा दायर गरेको थियो ।  पौडेलले प्रमाण नष्ट गर्न सक्ने अदालतले थुनामा पठाएको छ ।

उनलाई गत माघ १० गते अख्तियारले पक्राउ गरेको थियो । नेशनल पेमेन्ट गेटवेसम्बन्धी भ्रष्टाचार मुद्दामा पनि उनी दोषी ठहर भइसकेका छन् । 

राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक तथा नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक पौडेलले घुसबापतको रकम सिंगापुरको बैंकमा राखेको अख्तियारले जनाएको छ ।

अख्तियारले पौडेलविरुद्ध अदालतमा दायर गरेको अभियोगपत्रमा उनको खातामा १३ करोड ५३ लाख ८६ हजार २२६ जम्मा रहेको उल्लेख छ । 

 

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १९:०६
प्रतिक्रिया दिनुहोस्