मुगुमा ओखलकै भरमा अन्न कुटानी र पिसानी

शनिबार, वैशाख २२, २०८१

जाजरकोट– मुगुको छायाँनाथ रारा नगरपालिका–११ का विमी बुढा खेतबारीमा उत्पादन भएको सबै अन्न गाउँकै ओखलमा कुटानी पिसानी गर्दै आएकी छन् । उनको यो रहर नभइ बाध्यता हो । दुई हातको सहाराले एक खुट्टाले अन्न ओखल भित्र घुसाउँदै अर्को खुट्टाले बल लगाएर मुसदद्वारा अन्नपात कुटानी पिसानीको काम गरिँदै आएको छ ।

गाउँमा सडक पुगेपनि यातायातका साधन गुड्दैनन् । केही हुने खानेले सदरमुकामबाट चामल ल्याएर दैनिक भान्सा चलाउँदै आएका छन् भने अधिकांश सर्वसाधारण ओखलमा मुसलको सहाराले पाखे धान, कोदो, गहुँ र मकै कुटानी पिसानी गरेर भान्सा चलाउँदै आएको उनले जानकारी दिए । रोवा मात्र नभइ यस क्षेत्रका अधिकांश गाउँमा मुसलकै सहायताले कुटानी पिसानी हुने गरेको अर्का स्थानीय शिक्षक रत्ति कुमाइले जानकारी दिए ।

गाउँगाउँमा विद्युतका तार पुगेका छन् तर विजुली बल्दैन । विद्युत पुगेपछि यहाँका स्थानीयको विद्युतीय मिलको सहरामा अन्नपात कुटानी पिसानी गर्ने धोको रहेको स्थानीय शिक्षक पदम कुमाइले बताए । अहिले रोवा गाउँको बीचमा रहेका परम्परागत घर नजिकै ३ वटा ओखलबाट स्थानीयले कुटानी गर्दै आएको उनले बताए । गाउँमा पानीबाट सञ्चालन हुने घट्टहरु नभएका कारण अर्को समस्या आएको उनको भनाइ छ ।

प्रकाशित मिति: शनिबार, वैशाख २२, २०८१  २१:२६
प्रतिक्रिया दिनुहोस्