बाबुरामको टिप्पणी- आफूले लगातार चुनाव जित्दै आएको क्षेत्र ‘प्रचण्ड’लाई छाड्नु गल्ती

बिहीबार, वैशाख १३, २०८१

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आफूले लगातार चुनाव जित्दै आएको क्षेत्र गोरखा-२ छाड्नु गलत भएको टिप्पणी गरेका छन्।

२०७९ मंसिरमा भएको चुनावमा दाहालले चितवन छाडेर बाबुरामले प्रतिनिधित्व गर्दै आएको गोरखा २ मा प्रतिस्पर्धा गरेका थिए। दाहाललाई सहज रूपमा निर्वाचन क्षेत्र छाडेका भट्टराई त्यसप्रति ग्लानि व्यक्त गरेका हुन्। भट्टराईले आफ्नै उक्त निर्णयमा मतदाता र पार्टीका नेताकार्यकर्तासँग क्षमा मागेका छन्।भट्टराईले आफूले असल मनसायका साथ क्षेत्र छाडे पनि ‘प्रचण्ड’बाट धोका पाएको उल्लेख गरेका हुन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डको सत्तालिप्सा र दोधारे चरित्र झन् नाङ्गो रूपमा प्रदर्शित हुँदै गइरहेको, उल्टै मैले उनलाई निस्वार्थ गरेको सहयोगको बदलामा अनर्गल झुट र जालझेलका प्रपन्च रचेर चरम अशोभनीय हर्कत गर्दै गइरहेको, देश र जनताका आकाङ्क्षामा गम्भीर कुठाराघात गरिरहेको, जनयुद्धमा लाखौँ जनताका अतुलनीय त्याग र बलिदानलाई उनको सत्तास्वार्थसँग साटेर सत्य निरूपण तथा मेलमिलाप र बेपत्ता सम्बन्धी आयोगहरूका कामलाई टुङ्ग्याउनु सट्टा खेलबाड गरिरहेको लगायतका घटनाक्रमहरूले गोरखाली मतदाताहरूले व्यक्त गरेको असन्तुष्टि मसँग गरेको गुनासोलाई अन्यथा भन्न सकिने अवस्था रहेन।’

प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्