सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

शुक्रबार, वैशाख ७, २०८१

काठमाडौँ - यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले अनुमति लिएका छन् ।

    पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म ३३ आरोही समूहका ६५ महिला र दुई सय ८७ पुरुष गरी जम्मा तीन सय ५२ आरोहीले अनुमति लिएका हुन् । हालसम्म ५५ देशका आरोही सगरमाथा आरोहणका लागि आएका छन् । 

    विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले सगरमाथा आरोहण गर्न उत्साहजनक रुपमा आरोही आइरहेको बताउनुभयो । उहाँले यो वर्ष चार सयभन्दा बढी आरोही आउने विश्वास व्यक्त गर्नुभयो । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा आरोहण अनुमति लिएका थिए ।

    सगरमाथासहितका विभिन्न २४ हिमाल आरोहणको अनुमतिबापत हालसम्म रु ५६ करोड ४० लाख ३१ हजार एक सय ८१ राजस्व सङ्कलन भएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  २१:५२
प्रतिक्रिया दिनुहोस्