जिल्ला नछोड्न सिडिओलाई गृहको निर्देशन

बिहीबार, वैशाख २०, २०८१

काठमाडौँ - प्रमुख जिल्ला अधिकारीहरूलाई जिल्ला नछोड्न परिपत्र गरिएको छ । गृह मन्त्रालयले बिहीवार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै प्रजिअहरुलाई जिल्ला नछोड्न निर्देशन दिएको हो । देशभर बढ्दो आगलागीका घटनालगायत विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन जस्ता आकस्मिक रूपमा आइपर्ने महत्त्वपूर्ण कार्य सम्पादन गर्नुपर्ने भएकोले जिल्ला नछोड्न भनिएको हो । 

सुख्खायाम, हावाहुरीले गर्दा देशका धेरैजसो भूभागमा आगलागीका घटनाहरू घटिरहेको र जसले गर्दा ठूलो मात्रामा प्राकृतिक स्रोत साधन तथा धनजनको क्षति भइरहेकोले प्रमुख जिल्ला अधिकारीले कुनै पनि समयमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्ने लगायतका आकस्मिक रूपमा आई पर्ने महत्त्वपूर्ण कार्य सम्पादन गर्नुपर्ने भएकोले जिल्ला नछोड्न भनिएको हो । गृह सचिव एकनारायण अर्यालले सचिवस्तरीय निर्णय गर्दै जिल्ला भित्र रहँदा शान्ति सुरक्षाको व्यवस्थापन र अन्य नियमित कार्यका अतिरिक्त विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्यलाई उच्च प्राथमिकता दिई कार्य निर्देशन दिएका छन् । 


आम नागरिकको शान्ति सुरक्षासँगै आइपर्ने जोखिम न्यूनीकरणका लागि पनि गृह प्रशासनको अहम् भूमिका रहने र यति बेला आगलागीका घटना बढिरहेकोले थप चुस्त, दुरुस्त र प्रभावकारी रहन यस्तो निर्देशन दिइएको गृह सचिव अर्यालले प्रशासनलाई बताए । 

प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  १९:५७
प्रतिक्रिया दिनुहोस्