गाडी किन्न बैंकले सवा खर्ब कर्जा दियो

शुक्रबार, चैत ३०, २०८०

काठमाडौ - सवारीसाधन खरिद गर्न बैंक तथा वित्तीय संस्था (लघुवित्त संस्थाबाहेक)ले १ खर्ब २६ अर्ब रुपैयाँ बढी कर्जा दिएका छन्। चालू आर्थिक वर्षको फागुन मसान्तसम्म बैंक तथा वित्त कम्पनीले कुल १ खर्ब २६ अर्ब ९६ करोड १५ लाख रुपैयाँ सवारीसाधन खरिद गर्न (हायर पर्चेज) कर्जा प्रवाह गरेका हुन्।

सो कर्जामध्ये २० वाणिज्य बैंकहरुले १ खर्ब ७ अर्ब ६४ करोड, १७ विकास बैंकले १५ अर्ब २६ करोड र १७ वित्त कम्पनीले सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गरेका हुन्। नेपाल राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्त कम्पनीहरुले सवारीसाधन खरिद गर्न मूल्यको ८० प्रतिशतसम्म कर्जा दिन पाउँछन्।

जसमा ईभी (इलेक्ट्रीक भेहिकल) किन्न बैंकहरूले मूल्यको ८० प्रतिशतसम्म, पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनमा व्यक्तिगततर्फ ५० प्रतिशत र संस्थागततर्फ ७० प्रतिशतसम्म कर्जा सुविधा उपलब्ध गराउँछन्।

चालू वर्षको फागुनमसान्तसम्म वाणिज्य बैंकतर्फ सबैभन्दा बढी सवारीसाधन खरिद गर्न ग्लोबल आइएमई बैंकले १३ अर्ब ६६ करोड रुपैयाँ र सबैभन्दा कम नेपाल एसबिआइ बैंकले २ अर्ब ६७ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
 

बाँकीले २ अर्ब रुपैयाँदेखि पौने १० अर्ब रुपैयाँसम्म सवारी कर्जा प्रवाह गरेका छन्। सवारीसाधन खरिद कर्जामा एभरेष्ट, कृषि विकास नेपाल एसबिआई, स्ट्याडर्ड चार्टर्ड र एसबिआइले २ अर्बदेखि ४ अर्बसम्म कर्जा दिएका छन्। त्यस्तै सानिमा, राष्ट्रिय वाणिज्य, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि, प्राइम, लक्ष्मीसनराई, माछापुच्छ्रे, एनआइसी एशिया, सिद्धार्थ र सिटिजन्सले ४ अर्बदेखि ६ अर्बसम्म कर्जा दिएका छन्। वित्त कम्पनीतर्फ सबैभन्दा बढी गुडविल फाइनान्सले ७८ करोड ४६ लाख रुपैयाँ र सबैभन्दा कम जानकी फाइनान्सले ३ लाख रुपैयाँ सवारीसाधन खरिद कर्जा प्रवाह गरेका छन्।

त्यस्तै प्रभु, हिमालयन, कुमारी, नबिल र ग्लोबल आइएमई बैंकले ६ अर्ब रुपैयाँदेखि पौने १४ अर्ब रुपैयाँसम्म सवारीसाधन खरिद गर्न कर्जा प्रवाह गरेका छन्। विकास बैंकहरुतर्फ भने सबैभन्दा बढी गरिमा विकास बैंकले २ अर्ब ६९ करोड र सबैभन्दा कम साल्पा विकास बैंकले ३६ लाख रुपैयाँ सवारी कर्जा प्रवाह गरेका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १२:२३
प्रतिक्रिया दिनुहोस्