लगानी सम्मेलन सम्पन्न, आठ वटा लगानी समझदारीमा हस्ताक्षर

मंगलबार, वैशाख १८, २०८१

काठमाडौँ - नेपाललाई अन्तर्राष्ट्रियस्तरमा लगानीको उदाउँदो गन्तव्यका रूपमा परिचित गराउने लक्ष्यसहित आयोजना गरिएको तेस्रो लगानी सम्मेलन सम्पन्न भएको छ । दुई दिनको अवधिमा विभिन्न आठ वटा समझदारी पत्रमा हस्ताक्षर गरेर सोमबार सम्मेलनको औपचारिक समापनको घोषणा गरिएको हो ।

सम्मेलनको सचिवालयका रूपमा रहेको लगानी बोर्डको कार्यालयका अनुसार सम्मेलनको पहिलो दिन आइतबार दुई वटा लगानीसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको थियो । सम्मेलनको उद्घाटन सत्रकै क्रममा भारतको योट्टा डेटा सर्भिसेज र नेपालको बिएलसी होल्डिङ्सबिच करिब तीन अर्ब रुपियाँमा नेपालमा डेटा सेन्टर स्थापना गर्ने समझदारी भएको हो ।


सहमति अनुसार दुवै कम्पनीको संयुक्त लगानीमा काठमाडौँको रामकोटमा उक्त डेटा सेन्टर निर्माण हुने छ । सोही क्रममा नेपाल उद्योग वाणिज्य महासङ्घ र मलेसियाको नेसनल चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज अफ मलेसियाबिच व्यापार प्रवर्धनमा सहकार्य गर्ने समझदारी पनि भएको थियो ।

सम्मेलनको दोस्रो दिन अर्थात् सोमबार नेपालमा सार्वजनिक–निजी साझेदारी (पिपिपी) प्रवर्धनका लागि ‘वल्र्ड एसोसिएसन अफ पिपिपी युनिट्स एन्ड प्रोफेसनल्स’ (वाप) र ‘नेपाल एसोसिएसन अफ पिपिपी प्रोफेसनल्स अफ प्राक्टिस्नर्स’ (नाप) बिच द्विपक्षीय सहकार्यसम्बन्धी समझदारी भएको छ । समझदारीपत्रमा वापकातर्फबाट अध्यक्ष जियाद–अलेक्स्यान्डर हायक र नापकातर्फबाट अध्यक्ष अनुपकुमार उपाध्यायले हस्ताक्षर गरे । दुवै संस्थाले साझा चासोका विषयमा सहकार्य गर्ने, सार्वजनिक–निजी साझेदारी (पिपिपी) सम्बन्धी ज्ञान तथा अनुभव आदानप्रदान गर्ने समझदारीमा उल्लेख छ ।

त्यस्तै साखः एन्ड कम्पनी प्राइभेट लिमिटेड र बोर ग्रुप अफ होटल चाइनाबिच होटल व्यवसायमा सहकार्य गर्ने समझदारी पनि भएको छ । समझदारी अनुसार करिब दुई अर्ब रुपियाँ संयुक्त लगानीमा कपिलवस्तुको गोरुसिंगेमा होटल स्थापना हुने छ । ‘नेक्सजेन म्यानेजमेन्ट सोलुसन प्राइभेट लिमिटेड’ र चीनको ‘एमएबिसी इन्भेस्टमेन्ट प्राइभेट लिमिटेड’ बिच पनि लगानीसम्बन्धी समझदारी भएको छ । समझदारी अनुसार नेक्सजेनले एमएबिसीको माउ कम्पनीलाई नेपालमा वैदेशिक लगानी गर्नका लागि सहजीकरण गर्ने छ भने एफएनआइसीले चाइना दोङ्गन जिङ लङलाई सहजीकरण गर्ने छ । यसबाहेक नेपाल उद्योग व्यापार महासङ्घ (एफएनआइसी) र चाइना दोङ्गन जिङ लङ लाइटिङ प्रडक्ट कम्पनी लिमिटेडबिच नेपालमा लगानी प्रवर्धनका लागि सहकार्य गर्ने सम्बन्धमा समझदारीपत्रमा हस्ताक्षर भएको छ ।


 

प्रकाशित मिति: मंगलबार, वैशाख १८, २०८१  ०७:१८
प्रतिक्रिया दिनुहोस्