कफीखेती विस्तार गर्दै महाभारत गाउँपालिका

शनिबार, चैत २४, २०८०

काभ्रेपलाञ्चोक- जिल्लाको दक्षिणी क्षेत्रमा अवस्थित दुर्गम महाभारत गाउँपालिकाले कफीखेती विस्तारका लागि ‘पकेट क्षेत्र’ थपेको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले थप दुई वडामा  पकेट क्षेत्र बढाएको हो । 

हाल यो गाउँपालिकाका सबै वडामा कफीखेती हुँदै आएको छ । यसअघि छ वटा वडालाई पकेट क्षेत्र बनाइएको थियो । गाउँपालिकाक अनुसार यस वर्ष एक र ७ नं वडामा कफी पकेट क्षेत्र विस्तारका लागि स्थानीय किसानलाई कफीको बिरुवा रोप्दादेखि उत्पादकत्व बढाउने तथा त्यसको बजारीकरणसम्मको विषयमा तालिम दिँदै आएको छ । ‘कफीखेती गर्न इच्छुक किसानलाई हौसला दिने कार्यक्रमसमेत गाउँपालिकाले गर्दै आएको छ’, पालिकाको कृषि शाखा प्रमुख खिमबहादुर डाँगीले भने । 

शाखा प्रमुख डाँगीका अनुसार यो वर्ष पनि कफी प्रवर्द्धन कार्यक्रम गाउँपालिकाको बजेटमा उल्लेख गरिएको छ । सडकको विकाससँगै कफीखेती गर्ने किसानको सङ्ख्या पनि बढिरहेको बताइन्छ । गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ८ मा १/१ वटा पटेक क्षेत्र स्थापना गरिएको हो । 

गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले कफीखेतीलाई प्राथमिकता दिई सुरुआतदेखि नै कफीखेती हुने क्षेत्रको सर्वेक्षण गरेर क्रमशः त्यहीअनुसारको योजना बनाएको बताए । उनले भने, ‘बाँकी दुई वटा यही आर्थिक वर्षभित्र पकेट क्षेत्र बनाउने योजनाका साथ गाउँपालिका लागेको छ ।’उनका अनुसार कफी बिक्रीबाट पालिकाभित्र वार्षिक रु ५० हजारदेखि आठ लाखसम्म आम्दानी गर्ने किसान छन् ।

सर्वेक्षणअनुसार पहिलो प्राथमिकतामा परेको वडा नं २ मा सबैभन्दा बढी कफीखेती भइरहेको छ । पालिकाका वडा नं ३, ४, ५, ८, ६, ७ र १ मा कफीखेती हुँदै आएको हो । उक्त गाउँपालिकाका एक हजार किसान व्यावसायिक कफी खेतीमा संलग्न छन् । कृषि शाखाका अनुसार गत वर्ष करिब डेढ लाख केजी चेरी–कफीको फल उत्पादन भएको थियो । एक हजार चार सय ३३ रोपनी जमिनमा कफीखेती भइरहेको छ । 

गाउँपालिकाले गत वर्ष किसानलाई एक लाख कफीको बिरुवा वितरण गरेको थियो भने कफीको दुई नर्सरी स्थापना गरेको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, चैत २४, २०८०  ११:२४
प्रतिक्रिया दिनुहोस्