१४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’

आइतबार, चैत १८, २०८०

तनहुँ- ऋषिङ गाउँपालिका–१ र व्यास नगरपालिका–५को सीमाना भएर बग्ने सेती नदीको पानीलाई प्रयोग गरी निर्माणाधीन १४० मेगावाट जडित क्षमताको जलाशययुक्त तनहुँ जलविद्युत आयोजनाको मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव गोपाल प्रसाद सिग्देल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक एवम् तनहुँ हाइड्रोपावर लि. सञ्चालक समितिका अध्यक्ष कुलमान घिसिङले आइतबार संयुक्त रुपमा स्वीच दबाएर विस्फोट गराएपछि मुख्य सुरुङ ‘ब्रेक थ्रु’ भएको हो।

आयोजनाको प्याकेज–२ अन्तर्गत जलाशयको मुहान (इनटेक)बाट सुरु भई पेनस्टक पाइप रहने स्थानसम्मको १४९३ मि. लामो सुरुङ ‘ब्रेक थ्रु’ भएको छ। मुख्य सुरुङको ब्यास ७.४ मि. रहने छ। अब मुख्य सुरुङको कंक्रिट लाइनिङ गरिने छ। मुख्य सुरुङबाट गएको पानीलाई २१३ मि. लामो पेनस्टक पाइपमार्फत भूमिगत विद्युतगृहमा खसाली विद्युत् उत्पादन गरिने छ।

सुरुङ ‘ब्रेक थ्रु’ गर्न आयोजित समारोहमा ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव सिग्देलले धेरै समयको अन्तरालपछि बन्न लागिरहेको जलाशययुक्त आयोजनाको हालको प्रगति आफूले सोचेभन्दा राम्रो रहेको र मुख्य बाँध निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित सबैलाई आग्रह गरे।

‘कुलेखानीपछि बन्न लागेको जलाशययुक्त आयोजनाको अनुभवले दूधकोशी, नलगाढ, बूढीगण्डकीजस्ता जलाशययुक्त आयोजना विकास गर्न निर्देशित र थप विश्वास दिलाउँछ, आयोजना तोकिएकै समयमा सम्पन्न हुनुपर्छ,’ उनले भने।

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १३:५४
प्रतिक्रिया दिनुहोस्