भारतले सोमबारदेखि १२ घण्टा मात्रै विद्युत् दिने

शुक्रबार, चैत १६, २०८०

काठमाडाैं - भारतले १२ घण्टा मात्रै (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म) विद्युत् आयात गर्न मिल्ने गरी नेपाल विद्युत् प्राधिकरणलाई स्वीकृति दिएको छ । बिहीबार भारतले तीन महिना अर्थात् १६ असार (३० जुन)सम्म विद्युत् किन्न स्वीकृत दिएको प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले बताए । त्यो पनि एक सय ५० मेगावाट घटाएर तीन महिनाका लागि आफ्नो खुला बजारबाट नेपाललाई विद्युत् बिक्री गर्ने भएको हो ।

भारतले यसअघि विद्युत् आयात गर्न दिएको अनुमतिको म्याद आगामी आइतबार सकिँदै छ । यसअघि एक वर्षका लागि यस्तो सम्झौता नवीकरण हुने गथ्र्यो । यद्यपि, असारपछि नेपालमा बर्खाका कारण विद्युत् उत्पादन बढ्दा निर्यात नै गर्न सकिन्छ । तर, आगामी हिउँदमा विद्युत् आयात गर्न पुनः स्वीकृत लिनुपर्नेछ ।

पहिला ढल्केबरबाट ६ सय ५० र टनकपुरबाट ५४ मेगावाट विद्युत् आयात गर्न पाउने स्वीकृति थियो । तर, अहिले ढल्केबर–मुजफ्फरपुरबाट पाँच सय र टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट विद्युत् आयात गर्न पाइनेछ । बिहीबार अनुमतिपत्रको नवीकरण भएसँगै दिउँसोको समयमा हुन सक्ने लोडसेडिङ टरेको छ । तर, सोमबारबाट रातिको समयमा लोडसेडिङ हुने सम्भावना देखिएको छ ।

अनुमतिपत्र एक वर्षका लागि नवीकरण गर्न प्राधिकरणले तीन महिनाअघि नै प्रस्ताव पठाएको थियो । तर, भारतले चुनावमा बढी विद्युत् चाहिने बहाना गर्दै अनुमतिपत्र नवीकरण गर्न आनाकानी गरेको थियो । साथै, सत्ता गठबन्धनमा आएको परिवर्तन, दीर्घकालीन विद्युत् व्यापार सम्झौताविरुद्ध सर्वाेच्च अदालतमा परेको रिटलगायतका कारण पनि भारतले अनुमतिपत्र नवीकरण गर्न आनाकानी गरेको बताइन्छ । यद्यपि, भारतले बंगलादेशलाई पनि यही मोडेलमा विद्युत् किन्ने स्वीकृति दिएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्