इलामको मतगणना आजै सुरु हुने

शनिबार, वैशाख १५, २०८१

काठमाडौं - निर्वाचन आयोगले इलाम जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनको मतगणना शनिबार राति ११ बजेदेखि सुरु गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

त्यस्तै, बझाङको प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनको मतगणना भने आइतबारमात्रै सुरु हुने आयोगले जानकारी दिएको छ ।

आयोगका प्रवक्ता रामदत्त पाण्डेयका अनुसार इलामको मतगणनाको तयारी भइरहेको छ । मतदानको विवरण आयोगको सूचना प्रणालीमा प्रविष्टी हुनेक्रम जारी रहेको उनले जानकारी दिए ।

हालसम्मको विवरणअनुसार इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र २ मा करिब ५८ प्रतिशत मतदान भएको आयोगले जानकारी दिएको छ । उपनिर्वाचनका लागि इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा १ लाख १५ हजार ८ सय ८९ मतदाता थिए ।

इलाम निर्वाचन क्षेत्र नम्बर २ को मतगणनाबारे आयोगले भनेको छ, ुमतदान सम्पन्न भएका सबै मतदानस्थलबाट मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा ढुवानीको कार्य भइरहेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय र स्थानीय प्रशासनबाट प्राप्त जानकारीअनुसार इलाम जिल्ला प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ का मतपेटिका मतगणनास्थल इलाम नगरपालिका वार्ड नम्बर ७ स्थित गौतम बुद्ध सभागृहमा राति ११स्०० बजेभित्र आइपुग्नेगरी व्यवस्था मिलाइएको छ ।ु मतपेटिका मतगणनास्थलमा ल्याइसकेपछि लगत्तै मतगणना थालिने आयोगले जनाएको छ ।

बझाङको प्रदेशसभा उपनिर्वाचनको मतगणना भने आइतबारमात्रै हुने आयोगले जनाएको छ । करिब ५० प्रतिशत मतदान भएको बझाङ प्रदेशसभा उपनिर्वाचनमा ६१ हजार ७ सय ४८ मतदाता रहेका थिए ।

आयोगले बझाङ र इलाममा शान्तिपूर्ण एवं उत्साहजनकरूपमा उपनिर्वाचन सम्पन्न भएको जनाएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २२:०५
प्रतिक्रिया दिनुहोस्