वायु प्रदूषणले बालबालिका तथा महिलामा स्वास्थ्यसम्बन्धी जोखिम बढ्दो

शनिबार, वैशाख १५, २०८१

काठमाडौ - पछिल्लो समय बढ्दै गएको वायु प्रदूषणले बालबालिका तथा महिलामा विभिन्न स्वास्थ्यसम्बन्धी जोखिम बढाएको एक अध्ययनले देखाएको छ ।

‘सेभ द चिल्ड्रेन’ले गरेको अध्ययनअनुसार वायु प्रदूषणका कारण दम, फोक्सो तथा श्वासप्रश्वास, खोकी, छालालगायत स्वास्थ्यसम्बन्धी विभिन्न समस्या देखापरेका छन् । जसले बालबालिकाको वृत्तिविकासमा प्रतिकूल असर पर्नुका साथै गर्भावस्थामा रहेका महिलाको स्वास्थ्यमा समस्या र औसत आयुसमेत खस्किने गरेको देखिएको प्रतिवेदनमा उल्लेख छ ।

‘सेभ द चिल्ड्रेन’का सञ्चार तथा मिडिया निर्देशक आयुष जोशीले नेपालको वायु प्रदूषण अतिप्रभावित जिल्लाहरूमध्ये काठमाडौँ र सप्तरीमा यो अध्ययन गरिएको अध्ययनले वायु प्रदूषणको प्रभावलाई स्वास्थ्यसँग मात्र जोडेर हेर्नुभन्दा पनि बालबालिकाको समग्रहित र विकासलाई विश्लेषण गरेर बुझ्नुपर्ने बताए ।  “वायु प्रदूषणका कारण विद्यालय बन्दहुँदा र बाहिर हिँड्डुल गर्न कठिनाइ हुँदा शिक्षाको अवसर गुम्नसक्ने र परिवारको जिवीकोपार्जनमा समेत असर पर्नसक्ने चिन्ता व्यक्त गरे, साथै प्रदूषणले बालबालिका, महिला तथा न्यूनप्रतिनिधित्व भएका समूहको जीवनलाई नै गम्भीर असर गर्ने देखिन्छ”, उनले भने ।

विद्यमान विकास अवधारणाले वायु प्रदूषणका हानीकारक प्रभावबारे ख्याल नगर्ने पाइएकाले विकासमा महिला, बालबालिका, तथा न्यूनप्रतिनिधित्व भएका समूहका जीवनका भोगाइलाई समेत ध्यानदिन जरूरी रहेको भनाइ थियो ।

प्रतिवेदनले बालबालिकाका समग्रहितको लागि मजबुत नीतिगत व्यवस्थाको आवश्यकता औंलाएको छ भने त्यस्ता नीतिबारे जनस्तरमा सचेतना फैलाउन र पर्यावरणीय समस्याहरुको सम्बोधन गर्नुपर्नेमा जोडदिएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २१:३२
प्रतिक्रिया दिनुहोस्