किचनलाई सफा बनाउने घरेलु उपाय यस्ता छन्

बिहीबार, चैत १५, २०८०

काठमाडौ - भान्साकोठा तपाईंको घरको अभिन्‍न र महत्वपूर्ण हिस्सा हो । तपाईको परिवार र पाहुनाको लागि खाना पकाउने र खानाको तयारी गर्ने ठाउँ हो– भान्सा ।  त्यसैले भान्सालाई सधै सफा, स्वस्थकर र व्यवस्थित पारेर राख्‍नु अपरिहार्य हुन्छ । यदि तपाईंले किचनलाई सफा राख्‍न सक्नुभएन भने यो रोगको स्रोत पनि बन्‍न सक्छ । 

कुशलतापूर्वक काम गर्दा तपाईले अनावश्यक मेहेनत बिना पनि भान्साको सरसफाई सहज र व्यवस्थित तरिकाले गर्न सक्नुहुन्छ

यदि तपाईंले किचनलाई सफा राख्‍न सक्नुभएन भने यो रोगको स्रोत पनि बन्‍न सक्छ । सैले भान्सालाई सधै सफा, स्वस्थकर र व्यवस्थित पारेर राख्‍नु अपरिहार्य हुन्छ ।

भान्साको सरसफाईलाई व्यवस्थित गर्ने उपायहरु

भान्साकोठाको स्वच्छताको महत्व र यसको सरसफाईको अनिवार्यताबारे हामी सबैलाई थाहै छ । त्यसैले भान्साकोठालाई सफा र स्वच्छ राख्‍नको लागि यस्ता  घरेलु उपाय अपनाउन सकिन्छ ।

तरकारी तथा फलफूल धोएर मात्र प्रयोग गर्ने

तरकारी तथा फलफूलको प्रयोगअघि त्यसलाई सफा गरी निसंक्रमित पार्ने कुरामा चनाखो हुनुपर्छ । विशेष गरी बजारमा प्याकिङ गरेर राखिएका खानेकुराहरुलाई ताजा देखाउनको लागि त्यसमा केमिकलको प्रयोग भएको हुन सक्छ । यसले हाम्रो स्वास्थ्यमा प्रतिकूल प्रभाव पार्छ । 

तरकारी वा फलफूलको कुनै भागमा फोहोर लागेको छ भने पहिला त्यो फोहोर हटाएर राम्रोसँग सबै तरकारी वा फलफूल सफा पानीले धुनुपर्छ । सबैलाई अलग–अलग धोएपछि बल्ल प्रयोग गर्ने वा फ्रिजमा राख्‍ने गर्नुपर्छ ।

चपबोर्डलाई नियमित सफा गर्ने

प्रायः मानिसले चपबोर्डको हरेक पटकको प्रयोग पिच्छे त्यसलाई सफा गर्दैनन् । त्यसमा दुई चार पटकसम्म तरकारी वा फलफूल काट्दा पनि कुनै समस्या हुँदैन भन्‍ने हामीलाई लाग्‍न सक्छ । यसो गर्दा स–साना फोहोरका कण र किटाणुहरु चपिङ बोर्डमा रहिरहन्छ र अरु तरकारी तथा फलफूल काट्दा त्यसको संक्रमण बढ्छ । त्यस्तै काटेर बाँकी रहेका तरकारी वा फलफूलका टुक्राहरु चपिङ बोर्डमै रहि बासी भएर ब्याक्टेरिया बढ्ने तथा फैलिने समस्या हुन्छ । त्यसैले हरेक पटकको प्रयोग पश्‍चात चपबोर्ड धोएर छोपेर राख्‍नुपर्छ ।

जुठो भाडाहरुको थुप्रो नलगाउने

भान्साको स्वच्छतालाई कायम राख्‍ने सबैभन्दा सरल उपाय भनेकै जुठो भाडाहरु नथुपार्नु हो । सामान्यतयाः हामी भान्साको सिंकमा जुठा भाडा थुपारेर राख्छौ । यो एकदम गलत बानी हो । दिनभरी भाडा थुपारेर राख्‍ने वा रातिको खाना खाएर भोलि बिहान माझ्छु भनेर रातभरी जुठा भाडा सिंकमा चाङ लगाएर राख्‍नु ठिक होइन । 

जुनसुकै बेला होस, खाना खाएर सक्ने बित्तिकै सबै जुठा भाडाहरु माझेर सफा गरिहाल्ने बानी बसाल्नुपर्छ । जुठा भाडामा रहेका बचेखुचेका खानेकुराको कारण ब्याक्टेरिया र अन्य किटाणुहरु बढ्ने गर्छन् । त्यसैले भान्साकोठाको सरसफाईलाई कायम राख्‍नको लागि यस्ता जुठा भाडालाई तुरुन्त सफा गरी व्यवस्थित गर्नुपर्छ ।

किचेन र्याकलाई सफा र व्यवस्थित राख्‍ने

किचेन र्याकलाई राम्रोसँग व्यवस्थित नगरेसम्म भान्सा कोठाको सरसफाईले मात्र यसको सम्पूर्ण स्वच्छता र आकर्षणले पूर्णता पाउँदैन । भान्सा सफा गर्ने क्रममा र्याकहरु पनि राम्रोसँग सफा गरी त्यसमा रहेका सामानहरु मिलाएर राख्‍नुपर्छ । मरमसला, भाडाकुडा, अन्य खानेकुरामा डब्बाहरुलाई मिलाएर राख्‍नुपर्छ । भान्सामा प्रयोगमा नआउने सामाग्री छन् भने तिनलाई हटाउनुपर्छ । कहिलेकाहीँ मात्र प्रयोगमा आउने सामाग्रीहरुलाई र्याकको माथिल्लो खण्डमा राख्‍नु वेश हुन्छ  र दैनिकरुपमा प्रयोगमा आउने चिजवस्तुलाई भान्साको स्ल्याब माथि सफासँग राख्‍नुपर्छ ।

भान्साको स्ल्याबमा अनावश्यक सामान नराख्‍ने

भान्सामा पस्दा प्रायः सबैको नजर पर्ने भनेको स्ल्याब अर्थात चुल्हो भएको ठाउँमा हो । यसले भान्साको समग्र स्वरुपलाई प्रतिनिधित्व गर्छ । भान्साको स्ल्याबलाई सफा र व्यवस्थित राख्‍नुपर्छ । शुरुमा त्यसमा रहेका सामानहरुको व्यवस्थापनको कार्य आवश्यक पर्छ । प्रयोगमा नआउने र ठाउँ मात्र ओगट्ने सामानलाई त्यहाँबाट हटाएर अन्यत्र भण्डारण गर्नुपर्छ । दैनिक उपयोग हुने सामानहरु पनि धेरै ठाउँ नखाने गरी मिलाएर राख्‍नुपर्छ । भान्साको स्ल्याबलाई सफा राख्‍नुको साथै यसलाई आकर्षक देखाउनको लागि सजावटमा पनि केहि काम गर्न सकिन्छ । इन्डोर प्लान्ट वा अन्य सजावटका सामाग्रीको प्रयोगले यसको सौन्दर्य बढाउन सकिन्छ ।

भान्सा सफा गर्ने सामाग्रीहरु सफा र निसंक्रमित पार्ने

हामीले भान्सा सफा गर्दा प्रयोग हुने सामाग्रीलाई पनि उतिकै ख्याल गर्नुपर्छ । हामी भान्सा सफा गर्न जागर त चलाउँछौ तर, त्यसमा प्रयोग हुने सामाग्री नै आफैँमा सफा छैन भने त्यसले झनै नोक्सानी पुर्याउँछ । 

यस्ता फोहोर स्पन्ज, कपडा आदिले भान्सा सफा गर्दा झनै फोहोर बनाउने र ब्याक्टेरिया फैलाउने काम गर्छ । त्यसैले सफा गर्ने सामाग्रीलाई पनि नियमित सफा गरी निसंक्रमित पार्नुपर्छ । स्पन्जहरु प्रयोग गरेर फ्याक्नुपर्ने खालका हुन्छन् । 

यद्यपी तपाईंले एउटा स्पन्जलाई ४–५ पटकसम्म सरसफाईको काममा प्रयोग गर्न सक्नुहुन्छ । तर, हरेक पटकको प्रयोग पश्चात स्पन्जलाई साबुन पानीले राम्रोसँग सफा गर्नु आवश्यक रहन्छ । यसलाई सफा गरेर केहि समय सुक्नको लागि छोड्नुपर्छ र सुख्खा ठाउँमा राख्‍नुपर्छ ।

अहिले बजारमा सरसफाईको लागि प्रयोग गरिने विभिन्‍न रासायनिक पदार्थहरु किन्‍न पाइन्छ । त्यसको अलावा तपाईले घरमै पनि भिनेगर, बेकिङ सोडा, कागती आदिको मिश्रण बनाई त्यसको प्रयोगले भान्साका विभिन्‍न भागहरु सफा गर्न सक्नुहुन्छ । 

 

 

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्