२४सै घण्टा व्यवसाय सञ्चालन गर्ने निर्देशनपछि ठमेल उत्साहित

बिहीबार, चैत ८, २०८०

काठमाडौँ- ठमेलको सञ्चयकोष नजिकै बर्गर पसल र क्याफे सञ्चालन गर्दै आएका सन्तोष लामिछानेले व्यवसाय व्यवस्थित बनाउन थप कर्मचारी खोजी गर्दैछन् ।

गृहमन्त्रालयको सचिवालयले २४सै घण्टा पर्यटन व्यवसाय सञ्चालन गर्ने विषयमा सम्बन्धित निकायलाई निर्देशन दिएपछि सन्तोषजस्ता थुप्रै पर्यटन व्यवसायी उत्साहित छन् ।

ठमेल र दरबारमार्ग क्षेत्रका व्यवसायी थप व्यापार फस्टाउन रचनात्मक योजना बनाइरहेका छन्। “कर्मचारी बढाउनुपर्छ, क्याफे पनि अलि चिटिक्क पार्दैछु”, सन्तोषले भने, “अब भने पर्यटक फर्काउनु पीडा हुँदैन भन्नेमा ढुक्क छु ।”

यसअघि उनले धेरैपटक क्याफेमा आएका पर्यटकलाई समय सकियो भन्दै सटर बन्द गर्नुपेरको अनुभव सुनाए । बेलुका १२ बजेसम्म पर्यटक उनको क्याफेमा रमाउँथे । समय अवधि सकिएपछि ‘तपाईं निस्किनुस्’ भन्न निकै अमानवीय स्वाभाव लाग्ने गरेको सन्तोषले बताए। “यो चिन्ता अबदेखि हट्दैँछ । अब पर्यटक पनि खुसी हुन्छन् । आफ्नो व्यवसाय पनि थप चलायमान हुनेछ”, उनले भने ।

ठमेलका मुनलाइट होटल सञ्चालक सागर पाण्डेले सरकारले २४सै घण्टा व्यवसाय सञ्चालन गर्न दिँदा पर्यटकले भरपुर मनोरञ्जन गर्न पाउने बताए। व्यवसाय अझै चुस्त पार्न उनले तीन सिफ्ट स्टाफ खटाउने तयारी गरिरहेको बताए । व्यवसाय फस्टाउँदै गए रोजगारीका अवसरहरु पनि सिर्जना हुने उनको भनाइ छ ।

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  १६:३१
प्रतिक्रिया दिनुहोस्