सरकारले गरिबी शून्यमा झार्नेगरी काम गर्ने ओलीको दाबी

बुधबार, चैत ७, २०८०

काठमाडौँ - नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरिबी घटाउने गरी काम गर्ने बताएका छन् ।

अघिल्लो सरकारले गरिबी तीन प्रतिशतले बढाएको उल्लेख गर्दै उनले त्यसलाई घटाउँदै लगेर शून्यमा झार्ने सरकारको योजना हुने पनि बताए ।

पार्टीको काठमाडौँ जिल्ला कमिटीले बुधबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले गरिबीलाई शून्यमा झार्ने गरी काम नगर्ने हो भने आफ्नो पार्टी सरकारमा हुनुको कुनै अर्थ नहुने पनि बताए ।

उनले चीनले गरिबी शून्यमा झारेको दृष्टान्त पेश गर्दै आफूहरूले पनि त्यसै अनुसार काम गर्ने बताए । विगतमा एमाले नेतृत्वको सरकारले जनताले जीवनमा परिवर्तन ल्याउने गरी सडक बालबालिकाका व्यवस्थापन गरेको, असहाय, अशक्तहरूलाई सामाजिक सुरक्षाको दायरामा ल्याएको तर आफूहरू सरकारबाट हटेपछि त्यो कामले निरन्तरता पाउन नसकेको ओलीले जिकिर गरेका छन् ।

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १८:०३
प्रतिक्रिया दिनुहोस्