पक्राउ परेका पुनलाई ८ दिन हिरासतमा राख्न अनुमति

आइतबार, चैत ४, २०८०

बुटवल- सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका दीपेश पुनलाई अनुसन्धानका लागि ८ दिन हिरासतमा राख्न रुपन्देही जिल्ला अदालतले अनुमति दिएको छ । शुक्रबार काठमाडौँमा पक्राउ परेका पुनलाई प्रहरीले आइतबार रुपन्देही जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेको थियो ।

बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा जोडिएका पुनलाई शुक्रबार नै बुटवल ल्याइएको थियो । जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले पुनलाई ८ दिन अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले म्याद दिएको रातोपाटीलाई बताए ।

सहकारी ठगी प्रकरणका अनुसन्धान गर्दा पुनलाई नियन्त्रणमा लिनुपर्ने देखिएकाले पक्राउ गर्न रुपन्देही प्रहरीले काठमाडौँ प्रहरीलाई पत्राचार गरेको थियो । रुपन्देही प्रहरी प्रमुख एसपी रन्जितसिंह राठौरले अनुसन्धानकै क्रममा रहेकाले अहिले धेरै विषय खुलाउन नमिल्ने बताए ।

पुनमाथि सुप्रिम सहकारीको ७८ करोड रकम अपचलन गरेको आरोप छ । यसअघि सोही सहकारीका अध्यक्ष ओम गुरुङ र भैरहवाका शाखाकी प्रमुख दुर्गा चापागाईँलाई प्रहरीले नियन्त्रणमा लिइसकेको छ । उक्त सहकारीको रकम हिनामिनामा मुख्य आरोपित जीवी राई भने फरार छन् ।

पुन संस्थापक सचिव रहेको सहकारीमा बचतकर्ताहरूले जम्मा गरेको रकम हिनामिना गरेको उजुरी परेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । सो सहकारीबाट विभिन्न पाँच वटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण प्रवाह भएको छ ।

रुपन्देही लगायतका जिल्लाका बचतकर्ताहरूको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै बचतकर्ताहरूले प्रदेश सहकारी रजिस्ट्रारको कार्यालयमा उजुरी दिएका थिए । सुप्रिम सहकारीबाट गोर्खा मिडिया नेटवर्कले साढे १० करोड रुपैयाँ ऋण लिएको देखिन्छ ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १७:३५
प्रतिक्रिया दिनुहोस्