२७ किलो गाँजासहित ७ जना पक्राउ

आइतबार, चैत ४, २०८०

काठमाडाैं- मकवानपुर,  कास्की र रुपन्देहीबाट करिब २७ किलो गाँजासहित ७ जना पक्राउ परेका छन् ।

मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-११ सरस्वती चोकबाट अवैध लागूऔषध गाँजा २३ किलोसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कैलास गाउँपालिका-१० नामटार घर भई हेटौंडा उपमहानगरपालिका-१९ बस्ने २५ वर्षीय मदन तामाङ र ३८ वर्षीया सर्मिला भोलन रहेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले नवलपुरबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३-००३ प ७७७७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो । 

कास्कीकाे पोखरा महानगरपालिका-१२ संगमटोल बस्ने २६ वर्षीय दिपेश नेपाली र स्याङजा घर भई पोखरा महानगरपालिका-९ नागढुङ्गा बस्ने २० वर्षीय सागर नेपालीलाई अवैध लागूऔषध गाँजा करिब ३ किलोसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा खटिएको प्रहरीले दिपेशको घरमा लुकाई छिपाई राखेको उक्त गाँजा फेला पारी दुवै जनालाई पक्राउ गरेको हो । 

रूपन्देहीकाे बुटवल उपमहानगरपालिका-१३ बदेलपोखरीबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ सय ग्रामसहित पाल्पा रिब्दिकोट गाउँपालिका-५ बस्ने मोहन रेग्मी समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले पाल्पाबाट बुटवलतर्फ जाँदै गरेको लु.२ च ६१८४ नम्बरको पिकअप जिपलाई जाँच गर्ने क्रममा उक्त गाँजा फेला पारी जिपमा सवार उनीहरूलाई पक्राउ गरेको हो । 

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  १६:५२
प्रतिक्रिया दिनुहोस्