प्रिमियर लिगमा फुलह्याम र बर्नले विजयी  

आइतबार, चैत ४, २०८०

काठमाडौँ - इंग्लिस प्रिमियर लिगमा फुलह्याम र बर्नलेले जित निकाल्दा लुटन र नटिङघम फरेस्टले बराबरी खेलेका छन् । 

शनिबार राति भएको खेलमा फुलह्यामले टोटनह्यामलाई ३-० गोल अन्तरले पराजित गरेको हो । फुलह्यामको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे । 


खेलको ४२ औँ मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाए । ४९ औँ मिनेटमा लुकीले टिमोटी कास्टेग्नेले गोल गरेपछि फुलह्यामले अग्रता दोब्बर बनाएको थियो ।

यस्तै, ६१ औँ मिनेटमा मुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा फुलह्यामले ३-० को सहज जित निकाल्न सफल भयो । जितसँगै फुलह्याम ३८ अंकका साथ तालिकाको १२ औँ स्थानमा रहेको छ भने पराजित भएको टोटनह्याम ५३ अंकका साथ तालिकाको पाँचौँ स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले ब्रेन्टफोर्डलाई २-१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्ड आठौँ मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सर्जियो रिगुलियन रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसपछि पाएको पेनाल्टीमा बर्नलेका ज्याकोब लार्सेनले गोल गर्दै अग्रता दिलाए । ६२ औँ मिनटमा डेभिड फोफानाले गोल गर्दै बर्नलेको अग्रता दोब्बर पारेका थिए ।

तर, ८३ औँ मिनेटमा क्रिष्टोफोर अजेरले ब्रेन्टफोर्डका लागि गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । प्रिमियर लिग तालिकामा बर्नले १९ औँ तथा ब्रेन्टफोर्ड १५ औँ स्थानमा छ ।

यसैगरी नटिङघम फरेस्ट र लुटन टाउनले एक-एक गोलको बराबरी खेल्दै एक- एक अंक लिएका छन् । ३४ औँ मिनेटमा क्रिस वुडले गोल गर्दै नटिङघम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ८९ औँ मिनेटमा लुटनका लागि लुकी बेरीले बराबरी गोल गर्दै महत्वपूर्ण एक अंक दिलाए । नटिङघम १७ औँ तथा लुटन १८ औँ स्थानमा छ ।

प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने ८ बजे वेस्टह्याम र एस्टन भिल्ला भिड्ने छन् ।

प्रकाशित मिति: आइतबार, चैत ४, २०८०  ०८:०७
प्रतिक्रिया दिनुहोस्