राजनीतिमा एउटा खुलासा

बालेन समात्ने योजनाबारे सीकेको सनसनी खुलासाको सन्देश–नयाँसँग त्रसित छन् मुख्य दल

मंगलबार, फागुन २९, २०८०

काठमाडौं– देशको सबैभन्दा ठूलो काठमाडौं महानगरपालिकामा प्रभावकारी काम थालेका मेयर बालेन्द्र (बालेन) साहसित संघीय सरकारले समन्वय नगर्दा बेलामौका ‘टिठपूर्ण’ सम्बन्ध बन्ने गरेको थियो। राजनीतिक रुपमा यसलाई ठूलो मानिँदैन। तर तत्कालिन सत्ता गठबन्धनमा रहेका हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालेनलाई पक्राउ गर्नेसम्मको तयारी गरेको खुलासाले नयाँ तरङ्ग ल्याएको छ। 

बालेन पक्राउको योजनबारे सार्वजनिक रुपमा नै तत्कालिन गठबन्धन मध्यको एक जनमत पार्टीका अध्यक्ष सीके राउतले खुलासा गरेपछि राजनीतिक वृत्त केही गर्माएको छ भने परम्परावादी पुराना दल नयाँ उदयीमान शक्तिसँग त्रसित रहेको भनक समेत मिलेको छ।

माओवादीलगायतका दलको गुम्दै गएको राजनीतिक पकड र नयाँले हस्तक्षेप गरिरहेको राजनीतिक वृत्तमा जनतालाई नियन्त्रणमा लिन नसकेपछि ‘नौलो तानाशाही’ योजना बुनिएको राउतले खुलासा गरेका थिए, एक टेलिभिजन अन्तरवार्तामार्फत।

विभिन्न दलसँग गठबन्धन गर्दा पनि शक्ति कमजोर बनेपछि आत्तिएका प्रधानमन्त्री प्रचण्डले केही कार्यक्रममा मेयर बालेनमाथि कटाक्ष नगरेका होइनन्। ललितपुर महानगरपालिकाको कार्यक्रममा बालेनले सम्बोधन गरी काममा फर्किएपछि मञ्चमा नै प्रचण्डले कटाक्ष गरेका थिए। तर, उनको योजना यो हदसम्मको रहेको थियो भन्नेचाहिँ पहिलो पटक खुलासा भएको हो। यसले सत्ता नयाँ तानाशाही प्रवृत्तिका लागि जतिबेला पनि तयार हुनसक्ने प्रक्षेपण गर्न सकिन्छ।    

स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा बालेनको लोकप्रियताको कसीमा प्रतिनिधि सभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को उदय असोचनिय भएपछि मुख्य दल त्रसित भए। यति मात्र होइन अझ तनहुँ–१ को उपनिर्वाचनमा गठबन्धनलाई नै धक्का पुगेपछि अझ आत्तिएका मुख्य दलका शीर्ष नेताले नयाँको तिव्र गति रोक्न अनेक प्रपञ्च गरेको खुलासा हुँदै गएका छन्। 

त्यस मध्य काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई पक्राउका लागि विभिन्न योजना बनाएको विषयमा तत्कालिन गठबन्धनमा नै रहेका जनमत पार्टीका अध्यक्ष सीके राउतले सनसनी खुलासा गरिदिए। यसले के पुष्टि हुन्छ भने राजनीतिलाई मनोगत हिसाबले चलाउन नसकिने स्थिति आइसकेको ठानेका मुख्य दलका शीर्ष नेताको ‘राजनीतिक होस’ उडिसकेको छ।

‘यदि यो साँच्चैको योजना थियो भने दलहरू आत्तिएका छन्। यसको अर्थ आगामी निर्वाचनमा आफूहरू धुलीसात हुन सक्ने विषयमा विश्लेषण गरिसकेका छन्’, उच्च अधिकारीहरू भन्छन्,‘राजनीतिका नयाँ अनुहारमा आश मात्र होइन, कामको प्रभावकारिता पनि देखिएको छ। काम नगर्ने त आत्तिने नै भए।’

नयाँसँग आत्तिएका प्रधानमन्त्री प्रचण्डले साख जोगाउनका लागि गठबन्धन भत्काउने र बनाउने खेललाई तिव्रता दिए। जहाँ नयाँ भनिएको रास्वपालाई पनि सहकार्यका लागि अहिलेको गठबन्धनमा सामेल गराएका छन्। 
 

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १०:५६
प्रतिक्रिया दिनुहोस्