राप्रपाकाे निर्णय

राप्रपाले चैत १६ गते काठमाडौँमा जनसंघर्ष गर्ने

बुधबार, फागुन १६, २०८०

काठमाडौँ– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी चैत १६ गते काठमाडौँमा जनसंघर्ष गर्ने निर्णय गरेको छ । 

पार्टीले गत फागुन ९ गते नेपाल सरकारसमक्ष पेश गरेको ४० बॅुदे माग पूरा गराउन देशका सबै जिल्लामा जनदबावका कार्यक्रम संचालन गर्ने र काठमाडौँ जनसंघर्ष गर्ने निर्णय गरेको हो ।

यसक्रममा राप्रपाले आज राजधानीमा सबै जिल्लाको प्रतिनिधिमुलक आन्दोलन सम्बन्धि प्रशिक्षण गरेको राप्रपाका प्रवक्ता मोहनकुमार श्रेष्ठले बताए । 

उनका अनुसार अध्यक्ष एवं आन्दोलन मूल समितिका संयोजक राजेन्द्र लिङ्देन, पूर्व अध्यक्ष एवं निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्रले नीतिगत तथा आन्दोलनको अपरिहार्यताका विविध विषयमा, महामन्त्री एवं आन्दोलन परिचालन समितिका संयोजक डा. धवल शमसेर राणाले संघर्षको कार्यक्रमको खाका, कोषाध्यक्ष, आर्थिक समिति संयोजक निलकण्ठ काफ्लेले अर्थ व्यवस्थापन र प्रवक्ता एवं आन्दोलन प्रचार समितिका संयोजक मोहन श्रेष्ठले आन्दोलनको प्रचार रणनीति विषयमा सहभागीहरुलाई प्रशिक्षण दिएका छन् ।

राप्रपाले फागुन २३ गते जिल्ला तहमा तयारी बैठक र प्रशिक्षण, फागुन २८ गते संघीय र प्रदेशसभा निर्वाचन क्षेत्रमा, सबै स्थानीय तहमा तयारी बैठक, चैत ७ गतेसम्म सबै जिल्लामा प्रचारात्मक कार्यक्रम, घरदैलो, कोणसभा र साना ठूला सभा गर्ने प्रवक्ता श्रेष्ठले बताए । 

यसैगरी, चैत १० गते देशका मुख्य शहरमा मोटरसाइकल ऱ्याली, चैत १४ गते पार्टी निकट राष्ट्रिय प्रजातान्त्रिक भुतपुर्व सैनिक संगठनले राष्ट्रिय झण्डा सहित राजधानीमा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ । 

प्रकाशित मिति: बुधबार, फागुन १६, २०८०  २१:०७
प्रतिक्रिया दिनुहोस्