खाँदबारी–नुम सडकखण्ड : दुई वर्षमा २८ प्रतिशत काम

बुधबार, फागुन २, २०८०

सङ्खुवासभामा निर्माणाधीन उत्तर–दक्षिण कोसी राजमार्गअन्तर्गत खाँदबारी–नुम सडकखण्डको कालोपत्रे गर्ने कामले गति लिनसकेको छैन ।

खाँदबारीको लभिङहिलबाट नुमसम्म ३९ किलोमिटर सडकको कालोपत्रेको ठेक्का लागे पनि ठेकेदारले समयमा काम नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । उत्तर–दक्षिण कोसी सडक आयोजनाले अनुसार किमाथांका–रानी सडकको उक्त खण्डमा ठेक्का लागेको दुई वर्ष बित्दा पनि २८ प्रतिशतमात्र काम सम्पन्न भएको जनाएको छ ।

ठेक्का लागेको दुई वर्ष बित्दा करिब २८ प्रतिशतमात्रै काम भएको उत्तर–दक्षिण कोसी सडक आयोजनाका सूचना अधिकारी नरेश जिरेलले जानकारी दिए । ३९ किलोमिटर कालोपत्रेका लागि तीन खण्डमा ठेक्का आह्वान गरे पनि एउटै निर्माण कम्पनीको ठेक्का स्वीकृत भएको थियो । तीन खण्डको निर्माणको जिम्मा शर्मा–शिवशक्ति जेभी चितवनले पाएपछि निर्माणकार्य कछुवागतिमा छ । तीन खण्डमध्ये पहिलो खण्ड खाँदबारी लभिङहिल–थामसेर्कुेसम्म ३६ प्रतिशत भौतिक प्रगति भएको उनको भनाइ छ । दोस्रो खण्डअन्तर्गतको थामसेर्कुे–कप्तानेसम्म हालसम्म २२ प्रतिशतमात्र भौतिक प्रगति भएको छ । त्यसैगरी तेस्रो खण्ड कप्तानेबाट नुमसम्म २४ प्रतिशत भौतिक प्रगति भएको सडक आयोजनाका सूचना अधिकारी जिरेलले बताए ।

एक अर्ब २८ करोडमा कालोपत्रेको जिम्मा शर्मा शिवशक्ति जेभीले पाएको थियो । कालोपत्रे गर्ने भनिएको ३९ किलोमिटर सडकमा ठेकेदार कम्पनीले ठाउँठाउँमा ग्याबिन तारजाली लगाएर चौडा बनाउने र नाली निर्माणलगायतका सामान्य काममात्रै गरेको छ । ठेक्का सम्झौता गर्दा माइलस्टोनसम्बन्धी व्यवस्था रहेको र उक्त व्यवस्थाअनुसार ठेक्का सम्झौता १२ महिना अवधिभित्र ३० प्रतिशत ठेक्का सम्झौता रकमबराबरको वित्तीय प्रगति हासिल गर्नुपर्ने व्यवस्था छ ।

सम्झौताअनुसार वित्तीय प्रगति नगरेको भन्दै उत्तर–दक्षिण कोसी सडक आयोजनाले दिनको रु दुई लाख ५५ हजार हर्जनासमेत तिराएको छ ।

समयसीमाअनुसार काम सम्पन्न नगर्दा निर्माण कम्पनीले वित्तीय प्रगति नगर्ने ठेकेदार कम्पनीसँग करिब रु ७० लाख जरिबाना तिराएको सडक आयोजनाका सूचना अधिकारी जिरेलले बताए । खाँदबारीबाट चीनको सीमावर्ती किमाथांकासम्म सडकको लम्बाइ १६२ किलोमिटर छ । उत्तर–दक्षिण कोसी योजनाले ट्रयाक खुलेको १३९ किलोमिटरमध्ये ३९ किलोमिटर सडक कालोपत्रे गर्न लागेको हो । निर्माण कम्पनीले २०८१ असारसम्ममा ३९ किलोमिटर सडक कालोपत्रे गरिसक्नुपर्ने सम्झौता भए पनि हालसम्मको प्रगति हेर्दा समयमा काम नसकिने देखिन्छ । 

प्रकाशित मिति: बुधबार, फागुन २, २०८०  ०८:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार