बाँसबारी जग्गा प्रकरण : २१ दिनभित्र जग्गा फिर्ता गर्न मालपोतको पत्र

बिहीबार, माघ २५, २०८०

काठमाडौँ– सीजी रेसिडेन्सी प्रालिले हडपेको बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा फिर्ता ल्याउन सरकारले आवश्यक प्रक्रिया अघि बढाएको छ । 

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले च्याम्पियन फुटवेयर प्रालिलाई पत्र काट्दै जग्गा नेपाल सरकारको नाममा स्रेस्ता अध्यावधिक गरी ल्याउनका लागि कार्यालयमा २१ दिनभित्र आउन भनेको हो । 

मालपोत कार्यालयले पत्र प्राप्त भएको मितिले २१ दिनभित्र चाँद वाग रेसिडेन्सी प्रालि सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई आफैँ वा वारेस मुकरर गरी कार्यालयमा उपस्थित हुन भनिएको छ ।

पत्र प्राप्त भएको मितिले बाटोको म्याद बाहेक २१ (एक्काईस) दिनभित्र आफै वा वारेस मुकरर गरी कार्यालय समयभित्र उपस्थित नभएमा कानुन बमोजिम हुने पत्रमा उल्लेख गरिएको छ । 

मालपोत अधिकृत बोगराज शर्मा कट्टेलको हस्ताक्षरित पत्रमा भनिएको छ, ‘ज.ध. च्याम्पियन फुटवेयर प्रालिका नाममा दर्ता कायम रहेको जि. काठमाडौँ नगर–३ सिट नं १०२०९४७–१६ कि.नं. ५८ क्षे.फ. ०४६०७.२० ब.मी. ऐ.ऐ. नाममा दर्ता नगर–३ सिट नं ९४७–२१ कि.नं. १६ क्षे.फ. ००४८७।०० ब.मी. जग्गा श्री नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरोको पत्र संख्या ०८०/०८१ च.नं. ८४५९ मिति २०८०/१०/२२को पत्रानुसार उक्त जग्गा नेपाल सरकारका नाममा श्रेष्ता अध्यावधिक गरी ल्याउन मिति २०८०/१०र२४ को आदेश बमोजिम त्यस प्रा.लि.का नाममा यो पत्र लेख्ने कार्य भएको छ ।’ 

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा चौधरी ग्रुपका सदस्य अरुण चौधरी पक्राउ परेका थिए । उनी काठमाडौँ जिल्ला अदालतको आदेशमा बुधबार रिहा भएका थिए । तर, केन्द्रीय अनुसन्धान ब्युरोले यो प्रकरणमा अनुसन्धान जारी राखेको छ । 

bansbari-jagga-hinamina-1707408317.png

प्रकाशित मिति: बिहीबार, माघ २५, २०८०  २१:५०
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार