राष्ट्रिय भलिबल प्रतियोगिता

नेपाल पुलिस बन्यो राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन

बिहीबार, पुस २६, २०८०

वीरेन्द्रनगर– नेपाल पुलिस क्लब ३४औं राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।

साविक विजेता नेपाल एपिएफ क्लबको अपराजित यात्रामा पूर्णविराम लगाउँदै पुलिस क्लब राष्ट्रिय भलिबल प्रतियोगिताको च्याम्पियन बन्न सफल भएको हो ।

कर्णाली प्रदेशको सुर्खेतस्थित वीरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा पुलिसले एपिएफलाई ३–१ को सेटमा पराजित गर्यो । सुरुवातमा प्रतिस्पर्धात्मक बनेको पहिलो सेट एपिएफले २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । पहिलो सेट गुमाएको पुलिस दोस्रो सेटबाट भने खेलमा फर्कियो । दोस्रो सेट २५–१९ ले जित्दै पुलिसले खेललाई १–१ सेटको बराबरीमा ल्याए । 

पुलिसले तेस्रो सेट २५–१८ ले जित्दै खेलमा २–१ को सेटमा अग्रता लिन सफल भयो । चौथो सेटमा पनि पुलिसल २५–२३ को जित निकाल्दै च्याम्पियन बन्न सफल भयो ।  उपाधिसँगै पुलिसले १ लाख रुपैयाँसँगै शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  २० पुसबाट सुरु भएको प्रतियोगितामा तीन विभागसँगै सात प्रदेश गरी १० टोलीको सहभागिता रहेको थियो । 

समूह ‘ए’ मा पुलिस, एपीएफ, लुम्बिनी, बागमती र कोशी छन् । समूह ‘बी’ मा आर्मी, गण्डकी, कर्णाली, सुदूरपश्चिम र मधेश रहेका छन् । शीर्ष दुई टोलीले सेमिफाइनल खेलेका थिए ।

प्रकाशित मिति: बिहीबार, पुस २६, २०८०  १७:५९
प्रतिक्रिया दिनुहोस्