तराईमा किन चल्छ शीतलहर, कसरी बच्ने ?

सोमबार, पुस २३, २०८०

काठमाडौ- तराई मधेशका विभिन्न जिल्लामा केही दिनयता चलिरहेको शीतलहरका कारण जनजीवन कष्टकर बन्दै गएको छ।

शीतलहरसँगै खासगरी घरबाहिरका दैनिक कामकाज प्रभावित भएका छन् भने बढी प्रभावित ठाउँका विद्यालयहरूमा पठनपाठन पनि स्थगित भएको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार केही दिन देखि अहिले  तराईका जिललाहरुमा शीतलहरको प्रभाव देखिएको छ।

“सबैभन्दा बढी प्रभाव मध्य तराई चितवन, बारा, पर्सा, रौतहट, सर्लाही, महोत्तरी र धनुषामा देखिएको छ। नेपालको तराईमा सामान्यतया डिसेम्बरदेखि फेब्रुअरीको अवधिमा शीतलहर चल्ने गरेको छ।

दैनिक चिसो बढ्दै गएपछि शीतलहरबाट हुनसक्ने समुदाय एवं बस्तीको पहिचान गरी विभिन्न जिल्लामा यसबाट जोगिन सचेतनामुलक कार्यक्रम समेत संचालन गरिएको छ ।  जाडोयाममा पहाडी भेगमा कुहिरो लाग्छ, चिसो हुन्छ र सिरेटो पनि चल्छ। हिमाली र उच्च पहाडी भेगमा हिमपात हुन्छ।

तर तराईमा बाक्लो कुहिरो लाग्नुका साथै शीतलहर पनि चल्ने गरेको छ। नेपालसँग सीमा जोडिएको भारतका उत्तर प्रदेश र बिहार राज्यमा पनि त्यस्तै हुन्छ।

शीतलहरबाट कसरी बच्ने ?

जाडो समयमा शीतलहरबाट बच्नु निकै महत्वपूर्ण हुन्छ । यस्तो मौसममा हामीले शरीरलाई न्यानो राख्न जरुरी हुन्छ । त्यसका लागि न्यानो दिने कपडा लगाउनुपर्छ । पन्जा, मोजा लगाउनाले पनि हातखुट्टा न्यानो बनाउन महत्वपूर्ण भूमिका खेल्छ ।

यस्तै शीतलहरबाट बच्न शारीरिक व्यायाम गर्ने, बालबालिका र वृद्धलाई चिसोमा नराख्ने, बाक्लो लुगा लगाइदिने, प्रशस्त मन तातो पानी पिउने, बच्चालाई मोटरसाइकलमा नचढाउने, तातो खानेकुरा खाने, अत्यावश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कने कार्य आदि गरे शितलहर र चिसोको कहरबाट अवश्य बच्न सकिन्छ ।

घरमा बाहिरबाट चिसो आउने झ्याल–ढोका बन्द गर्नुपर्छ । तर, घर तातो बनाउने रहरमा सबै झ्याल–ढोका बन्द गरेर बस्दा या सुत्दा उकुसमुकुस भएर मान्छेको ज्यान नै जान सक्छ । यसतर्फ पनि विचार गर्नुपर्छ ।
 

प्रकाशित मिति: सोमबार, पुस २३, २०८०  १३:४८
प्रतिक्रिया दिनुहोस्