भेडेटार–राँके सडक

भेडेटार–राँके सडक : धनकुटामा धमाधम, इलाम-पाँचथरमा सुस्त

बुधबार, पुस १८, २०८०

पाँचथर– विशेषतः वर्षायाममा पूर्वी पहाडवासीलाई पिरोल्ने भेडेटार–रबि–राँके सडक निर्माणले पछिल्ला दिनमा गति लिएको छ ।

धनकुटा, इलाम र पाँचथरलाई जोड्ने १०० दशमलव ३६७ किलोमिटर लामो सडक निर्माणमा धनकुटातर्फ प्रगति देखिएको हो ।

धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट सुरुआत भएको सडक पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ लेखगाउँसम्म चौडा विस्तार सम्पन्न भएको छ । उक्त खण्डको करिब ४५ किलोमिटर सडक चौडा सम्पन्न गरी नाली निर्माण, पर्खाल, टेवा पर्खाललगायतका भौतिक संरचना निर्माणलगायतका कार्य अघि बढेको छ । यस्तै इलाम–पाँचथर खण्डको राँकेबजार–घुर्विसेपञ्चमी खण्डमा समेत निर्माणकार्यले सामान्य गति लिएको छ ।

भेडेटार–रबि–राँके सडक आयोजनाका प्रमुख दीपेश रजकका अनुसार आयोजना निर्माणमा हालसम्म ४३ प्रतिशत भौतिक प्रगति भएको छ । “पछिल्लो १० महिनामा मात्रै हामीले निर्माणमा २७ प्रतिशत प्रगति हासिल गरेका हौँ”, रजकले भने, “यस वर्ष वर्षायाममा सवारी सञ्चालनमा समस्या नहोस् भन्ने उद्देश्यसहित काम अघि बढेको छ ।”

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा भारत सरकारले यो सडक निर्माणमा सहुलियतपूर्ण ऋण दिने घोषणा गरेको थियो । सोही घोषणाअनुसार २०७५ साल पुस ३ गतेदेखि यो सडक निर्माण सुरु भएको थियो । भारतको एक्जिम बैंकले सहुलियतपूर्ण ऋण निकासा गर्ने भएकाले भारतकै एप्को इन्फ्राटेक प्रालिले सडक निर्माणको ठेक्का पाएको थियो । तर उक्त भारतीय निर्माण कम्पनीले निर्माणको जिम्मेवारी दिएको भारतकै अभिषेक विल्डर्स नामक कम्पनीले करिब चार वर्ष सडक निर्माणलाई गति दिन सकेको थिएन ।

आयोजना प्रमुख रजकका अनुसार पछिल्लोपटक मुख्य निर्माण कम्पनी एप्को इन्फ्राटेक प्रालि आफैँले आयोजनालाई अघि बढाइरहेको छ । यस्तै आयोजनाको परामर्शदाता कम्पनीलाई समेत हटाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मातहतबाटै परामर्शको समेत काम गर्ने व्यवस्था मिलाएपछि निर्माणले गति लिएको हो । यस्तै आयोजनाको रुख कटानी, निर्माण सामग्रीको उत्खनन तथा प्रयोग, भौतिक संरचना विस्थापनसहितका कार्य पनि सम्पन्न भएकाले आयोजना अघि बढाउन अब कुनै समस्या नरहेको उनको भनाइ छ ।

अहिले सडकको ७० किलोमिटर क्षेत्रमा काम भइरहेको आयोजना प्रमुख रजकले बताए । “अहिलेको गति कायम राख्न सके निर्माण सम्पन्न गर्न धेरै लामो समय लाग्दैन”, उनले भने, “विगतमा कोभिड–१९ महामारी, वातावरणीय प्रभाव मूल्याङ्कन, रुख कटानी र संरचना हटाउने कुराले धेरै अड्चन गरेका रहेछन् ।” उनका अनुसार हालसम्म आयोजना निर्माणमा चारपटक म्याद थप भएको छ । पछिल्लोपटक थप गरिएको म्याद आगामी भदौ १२ गतेसम्म छ ।

निर्माणमा ३५ वटा स्काभेटर, दुई दर्जनबढी अन्य निर्माण सामग्री, करिब तीन सय ५० जना कामदार खटिएका छन् । यहाँ डिभीएसटी प्रविधिबाट कालोपत्र गर्न लागिएको र सो प्रविधिका लागि तापक्रम उपयुक्त हुँदामात्रै सम्भव हुने भएकाले कालोपत्रको काम भने मौसममा आधारित हुने रजकको भनाइ छ ।

“यो भूभाग चिसो ठाउँ भएकाले कालोपत्रमा ढिलाइ हुन्छ । तर अहिले हामीले ग्रेड, सवबेस र बेसको काम सँगसँगै गरिरहेका छौँ”, रजकले भने, “ग्राभेल र नाली बनाइसकेको अवस्थामा इलाम–पाँचथरवासीले पाउने गरेको दुःख हुँदैन । आउँदो वर्षायाममा सडकको समस्या हटाउन सकिन्छ भन्ने मैले विश्वास लिएको छु ।”

सबै क्षेत्रमा एकैसाथ निर्माण हुन नसक्दा सेवाग्राही भने ढुक्क देखिँदैनन् । सडक निर्माण सुरुआत भएको धनकुटाको साँगुरीगढी गाउँपालिका–६ का दिलीप मगर पछिल्ला दिनमा निर्माणले गति लिएकामा खुसी हुनुहुन्छ । “अहिले देखिएको प्रगतिलाई निरन्तरता दिनुहुन म निर्माण कम्पनी र आयोजना कार्यालयलाई आग्रह गर्छु”, मगरले भने ।

तर पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ हुलाकका डिल्ली राई सडक कालोपत्र हुने कुरामा आफूलाई विश्वास लाग्न छाडेको बताउछन् । “कालोपत्र हुने भनेको यत्तिका समयमा पनि यहाँ कुनै काम हुनसकेको छैन । वर्षा लाग्नासाथ पैदल हिँड्नुपर्ने अवस्था आउँछ”, राईले भने ।

यो सडक धनकुटामा ४५ दशलमव ३९ किमी, पाँचथरमा ३० दशलमव १८ किमी, इलाममा २२ दशलमव १९ र इलाम–पाँचथर सीमामा दुई दशलमव ०६ किमी पर्छ । उच्च पहाड हुँदै निर्माणाधीन सडक वर्षा लाग्नासाथ हिलाम्य हुने हुँदा सवारी सञ्चालन ठप्पप्रायः हुन्छ । कुल रु तीन अर्ब ६५ करोड ८४ लाख ९५ हजार पाँच सय ७२ को लागतमा १०० दशलमव ३६७ किलोमिटर सडक नौ मिटर चौडा कालोपत्र गर्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ ।

पछिल्लोपटक सडकको स्थलगत अवलोकन गर्नुभएका पाँचथरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य वसन्तकुमार नेम्वाङका अनुसार निर्माण कम्पनीलाई सबै खण्डमा काम अघि बढाउन, जनशक्ति र उपकरण थप गर्न तथा वर्षायामअघि नै सबै स्थानमा ग्राभेल सम्पन्न गर्न आग्रह गरिएको बताउछन् । “काम हुन नसक्दा इलाम–पाँचथर खण्डका जनतालाई सडक बन्ने विश्वास छैन । सबै खण्डमा काम थालेर वर्षायाममा सवारी सञ्चालन सहज बनाउन निर्माण कम्पनी सकारात्मक भएको छ”, नेम्वाङले भने ।

प्रकाशित मिति: बुधबार, पुस १८, २०८०  १५:२२
प्रतिक्रिया दिनुहोस्