थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ सार्वजनिक

आइतबार, पुस १५, २०८०

काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त एवं स्रष्टा निदेशकुमार थपलियाको कविताकृति ‘गाउँ फर्कन्छु’ बजारमा आएको छ ।

साझा प्रकाशनबाट प्रकाशित उक्त कृतिमा उहाँका विसं २०४० देखि २०६३ सालसम्म रचिएका ३३ कविता समाविष्ट छन् । निजामती सेवामा लामो समय सेवा गरी  सरकारको सचिवबाट अवकाशप्राप्त थपलियाले आफ्ना अनुभव र भोगाइका आधारमा कविता, गीत र मुक्तक लेख्दै आएका छन्। उनका दर्जनौैँ गीत ‘रेर्कड’ भएका छन् ।

अच्छाराई रसिक प्रतिष्ठानले शनिबार सुनसरीमा आयोजना गरेको कार्यक्रममा  वरिष्ठ साहित्यकार प्रा डा टङ्क न्यौपानेबाट सो कृतिको विमोचन गरिएको छ । उनले थपलियाका कविताहरु युगबोधी भएको बताए । 

कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल र  मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले थपलियाको साहित्यिक व्यक्तित्व पनि उत्तिकै सक्रिय रहनु पाठकका लागि खुसीको विषय भएको बताए ।

कृतिमाथि समीक्षा गर्दै समालोचकद्वय डा टीका आत्रेय र दीपक न्यौपानेले थपलियाका कवितामा जीवन र जगत्का भोगाइका साथै व्यङ्ग्यात्मक प्रस्तुतिसमेत पाइने र तिनले सामाजिक रुपान्तरणमा टेवा मिल्ने बताए। कार्यक्रममा कवि अनिल पौडेलले कविको चिनारी प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति: आइतबार, पुस १५, २०८०  २१:०१
प्रतिक्रिया दिनुहोस्