कांग्रेस केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् एजेन्डा

बिहीबार, पुस १२, २०८०

काठमाडौं - नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेदेखि बैठक सुरू हुने कांग्रेस प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिए।

बैठकमा मुख्यगरी मन्त्रीहरूका कामकारबाहीको समीक्षा गर्ने तयारी गरेको छ। मन्त्रीहरूले आफूले गरेका कामबारे पनि पार्टीलाई जानकारी गराउनेछन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा कांग्रेस पनि सहभागी छ।

दाहालको नेतृत्वमा सरकार बनेको मंगलबार एक वर्ष पुगेको छ। उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस दाहाल नेतृत्वको सरकारमा सामेल भएको थियो। संघीय सरकारमा कांग्रेसबाट नौ जना मन्त्री छन्। मन्त्रीहरूले पार्टीसँग समन्वय गरी काम नगरेको यसअघि बसेका केन्द्रीय समिति बैठकमा गुनासो आएको थियो।

साथै महासमिति बैठक तयारी र राष्ट्रिय सभा निर्वाचनलगायत विषयमा पनि केन्द्रीय समितिमा छलफल हुनेछ। कांग्रेसले महासमिति बैठक पटक-पटक सार्दै आएको छ।

प्रकाशित मिति: बिहीबार, पुस १२, २०८०  ०७:४९
प्रतिक्रिया दिनुहोस्