दीपनारायणको मृत्युपछि धनुषाको हंसपुर अशान्तः प्रहरीले गोली चलायो, दुई जना घाइते

शुक्रबार, पुस ६, २०८०

जनकपुरस्थानीय दीपनारायण मण्डलको मृत्यु भएपछि धनुषाको हंसपुर अशान्त बनेको छ। स्थानीयले इलाका प्रहरी कार्यालयमा घेराउ गरी आक्रमण गरेपछि हवाई फायर र झडप भएको छ। सो क्रममा दुई जना थप घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरीको गोली लागेर दुई जना घाइते मध्य गम्भीर अवस्थाका एक घाइतेलाई उपचारको लागि काठमाडौँ लगिएको छ।

हंसपुर नगरपालिका ५ मा गएराति दुई समूहबीच झडप हुँदा ६५ वर्षका स्थानीय दीपनारायण मण्डल घाइते भएका थिए। घाइते मण्डललाई उपचारको क्रममा जनकपुर लैजाँदै गर्दा गएराति बाटोमै मृत्यु भएको थियो।

स्थानीयका अनुसार मण्डलको प्रहरी हिरासतमा मृत्यु भएको भन्ने खबर आएपछि सर्वसाधारणले तोडफोड गरेका थिए। सो क्रममा आगजनीको प्रयास समेत भएपछि प्रहरीले भिड नियन्त्रणका लागि दुई राउन्ड गोली चलाएको थियो। 

प्रहरीको गोली लागेर ३६ वर्षका स्थानीय शंकर मण्डल र १८ वर्षका नतलुन अन्सारी घाइते भएका छन्। घाइतेमध्ये मण्डलको अवस्था गम्भीर छ। अन्सारीको जनकपुरमै उपचार भइरहेको छ। दुवै जनाको हातमा गोली लागे पनि मण्डलको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ।

बिहीबार साँझ गाउँमा स्थानीय दुई समूहबीच विवाद भएको थियो। मृत्यु भएका दीपनारायण मण्डल र स्थानीय शंकर ठाकुर पक्षबीच झडप भएको थियो। सोही विषयको छलफल इलाका प्रहरी कार्यालयमा गराइएको थियो।

स्थानीयले आक्रमण गर्दा प्रहरी कार्यालयमा क्षति पुगेको छ। स्थानीयले प्रहरीका दुईवटा मोटरसाइकलमा पनि आगो लगाएका छन्। प्रहरीलाई आक्रमण गर्ने नियतसाथ भिड आएपछि प्रतिरक्षा र तितरवितर गर्नका लागि गोली चलाउनु परेको थियो।

यो स्थितिको मुख्य कारण गलत हल्ला चलाइएको प्रहरीको निचोड छ। जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु भएका भनिएका दीपनारायणलाई हिरासतमा यातना दिएको भन्ने हल्ला चल्यो। जबकि, दीपनरायणलाई राती नै छलफलपछि पठाइएको थियो।

उनको नजिकको मेडिकल सेन्टरमा उपचार गर्ने क्रममा मृत्यु भएको खबरलाई गलत हल्ला बनाएर चलाउँदा शुक्रबार प्रहरी कार्यालयमा झडपको स्थितिसम्म बनेको प्रहरी अधिकारी बताउँछन्।

प्रकाशित मिति: शुक्रबार, पुस ६, २०८०  १२:३२
प्रतिक्रिया दिनुहोस्