नेभिगेशन
समाज विविध

विपिनको रिहाइका लागि इजरायली प्रतिनिधिसँग परराष्ट्रमन्त्री साउदको फोन संवाद

काठमाडाैं - परराष्ट्रमन्त्री एनपी साउदले  हमास समूहकाे कब्जामा रहेका भनिएका विपिन जोशीको रिहाइका विषयमा इजरायल सरकारका बन्दी तथा बेपत्ता व्यक्तिहरूका विषय हेर्ने संयोजक गल हर्चसँग कुराकानी गरेका छन्।

सुदूरपश्चिम विश्वविद्यालयबाट ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत अध्ययनका लागि इजरायल पुगेका कञ्चनपुरका जोशीको हालको अवस्था पत्ता लगाउन, सुरक्षाको प्रत्याभूति गर्न र शीघ्र रिहाइ गराउने प्रयासकै निरन्तरतास्वरूप शुक्रबार दिउँसो टेलिफोन संवाद गरेका हुन्।

संवादका क्रममा मन्त्री साउदले विद्रोही समूह हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको वर्तमान अवस्था इजरायली स्रोतमार्फत यकिन गरिदिन, उनलाई सुरक्षाको प्रत्याभूति दिलाइदिन र आगामी दिनमा हमासको नियन्त्रणमा रहेका बन्दी रिहाइ हुँदा पहिलो चरणमा नै जोशीलाई प्राथमिकतामा राखिदिन आग्रह गरेका बताइएको छ।

परराष्ट्रमन्त्री साउदले नेपालको इजरायलसँगको ऐतिहासिक सम्बन्धका सन्दर्भमा यस मानवीय सहयोगले विशेष अर्थ राख्ने पनि बताएका थिए। जवाफमा संयोजक हर्चले इजरायलले जोशीलाई पारिवारिक सदस्यजस्तो मानेको र उनको रिहाइलाई प्राथमिकताका साथ ध्यान दिने आश्वासन व्यक्त गरे।

यसअघि परराष्ट्रमन्त्री साउदले गत मंगलबार कतारका राजदूत मिसाल मोहम्मद अल अन्सारीसँग विद्रोही हमासको नियन्त्रणमा रहेका भनिएका जोशीको रिहाइका लागि सबै उपाय लगाउन आग्रह गरेका थिए।

जवाफमा राजदूत अन्सारीले इजरायल र विद्रोही हमासबीच पुनः सुरु भएको युद्ध रोक्न कतार सरकारले पहल गरिरहेको बताएका थिए। नेपाली विद्यार्थी जोशीसहित अपहरणमा परेकाहरूको रिहाइका लागि समेत प्रयास जारी रहेको उनको भनाइ थियो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

देशका अधिकांश भागको मौसम सफा रहने