महाधिवेशन सार्ने तयारीमा एकीकृत समाजवादी

सोमबार, मंसिर १८, २०८०

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सार्ने तयारी गरेको छ । 

पार्टी कार्यालयमा सोमबार बसेको समाजवादीको सचिवालय बैठकमा जाजरकोट भूकम्पका कारण कारण तयारी गर्न नपाएको र राष्ट्रियसभा निर्वाचन समेत आइरहेकाले पार्टीको महाधिवेशनको मिति परिवर्तन गर्ने बिषयमा छलफल भएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

आगामी माघ १४ देखि १८ सम्म महाधिवेशन तय गरेपनि बिभिन्न कारणले तयारी गर्न नसकिएको उनले बताए । उनले सचिवालयको बैठक मंगलबार पुनः बस्ने र महाधिवेशनका बिषयमा आवश्यक निर्णय लिइने जिकिर गरे ।

त्यस्तै सचिवालय बैठकले राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरिएको उनले जानकारी दिए । बैठकमा राष्ट्रिय राजनीतिक, पार्टीको आन्तरिक संरचना, आगामी कार्ययोजना लगाएतका बिषयमा समेत छलफल भएको उनको भनाइ छ । 

बैठकपछि नेकपा समाजवादीका सम्मानीत नेता झलनाथ खनालले महाधिवेशन लगाएत सबै बिषयमा छलफल भएको र मंगलबार आवश्यक निर्णयमा पुगिने बताए । उनले लोकतन्त्रमा विरोध हुनु सामान्य भएकाले ठूलो घटनाका रुपमा लिन नहुने बताए । उनले व्यवस्था बलिएपनि जनताको अवस्था नफेरिएकाले नयाँ ढंगले जान समाजवादी तयार रहेको धारणा राखे ।

उनले एनसेनको सेयर बिक्रि गर्ने बिषय निकै गम्भीर रहेको जिकिर गरे ।

प्रकाशित मिति: सोमबार, मंसिर १८, २०८०  १८:४४
प्रतिक्रिया दिनुहोस्