Nic Ad Nic Ad
Nic Ad Nic Ad

कोशीमा सत्ता गठबन्धनको भागबण्डा मिल्यो , कुन दललाई कति ?

शनिबार, कात्तिक २५, २०८०

काठमाडौँ - कोशी प्रदेशमा सत्ता गठबन्धन दलहरूले प्रदेश सरकारको मन्त्रालय भागबन्डा टुङ्ग्याएका छन्। आज दिउँसो बसेको सत्ता गठबन्धन दलको बैठकमा मन्त्रालय भागबन्डाबारे सहमति जुटेको माओवादी केन्द्र कोशी संसदीय दलका नेता इन्द्र आङ्बोले जानकारी दिए।

जसअनुसार काँग्रेसले मुख्यमन्त्रीसहित ४ मन्त्रालय, माओवादी केन्द्रले  ४ मन्त्रालय तथा जनता समाजवादी पार्टी र एकीकृत समाजवादीले १र१ मन्त्रालय पाउने नेता आङ्बोले जानकारी दिए। कोशीमा अहिले काँग्रेसबाट शम्शेर राई, माओवादीबाट गणेश उप्रेती र एकीकृत समाजवादीबाट कमल जवेगु सरकारमा छन्। सहमतिअनुसार अब काँग्रेसबाट थप दुई जना, माओवादीबाट २ जना र जसपाबाट एक जना मन्त्री बन्नेछन्।

गठबन्धन सहमतिमा पुगेका कारण तिहार लगत्तै मन्त्रिपरिषद् विस्तार हुने नेता आङ्बोले बताए। कुन दलले कुन मन्त्रालय पाउने भन्नेबारे भने सहमति भइसकेको छैन। प्रदेशको संसदीय समितिको भागबन्डाबारे भने अन्य दलहरूसँगको छलफलपछि निर्णय हुने उनले बताए।

आजको बैठकमा सरकारले अध्यादेशमार्फत ल्याउने बजेट प्रतिस्थापन विधेयकमा निश्चित मापदण्ड बनाएर संसोधन गर्ने सहमति समेत भएको नेता आङ्बोले बताए। काँग्रेसबाट विद्रोह गरेर केदार कार्की कोशजीको मुख्यमन्त्री बनेका थिए। उनलाई मुख्यमन्त्री बनाउन सघाउने एमाले भने कात्तिक १८ गते सरकारबाट बाहिरिएको थियो। 

मुख्यमन्त्री कार्कीले सहमतिविपरित माओवादी र एकीकृत समाजवादीलाई सरकारमा ल्याएको भन्दै एमाले सरकारबाट बाहिरिएको थियो। सरकारबाट बाहिरिए पनि उसले सरकारलाई दिएको समर्थन कायम राखेको छ।

प्रकाशित मिति: शनिबार, कात्तिक २५, २०८०  १८:५६
प्रतिक्रिया दिनुहोस्