युक्रेनलाई करिब ५० युरोपेली नेताको समर्थन

बिहीबार, असोज १८, २०८०

स्पेन– पश्चिमी प्रतिबद्धता केही कमजोर भएको बेला युक्रेनको पक्षमा उभिन जोड दिन बिहीबार दक्षिणी स्पेनको ग्रानाडामा युरोपेली युनियनका करिब ५० नेताहरू भेला हुँदैछन् । 

युरोपेली राजनीतिक सामुदायिक मञ्चको बैठकमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की पनि सहभागी छन् । उक्त मञ्च सन् २०२२ फेब्रुअरीमा युक्रेनमाथि रुसले गरेको आक्रमणको परिप्रेक्ष्यमा गठन भएको थियो । उक्त आक्रमणसँगै युरोपको राजनीतिक एजेन्डालाई धेरै हदमा फरकरूपमा स्थापित गर्यो र यस महादेशमा शान्ति र स्थायित्वमा लामो समयदेखि कायम विश्वासलाई मूलभूतरूपमा कमजोर बनायो । 

राजनीतिक, आर्थिक र सैन्य सहयोगका बावजुद युक्रेनी क्षेत्रमा रुसी आक्रमणबाट मुक्त बनाउने दिशामा गतिरोध कायमै छ । 

यद्यपि ग्रानाडामा युरोपेली नेताहरू युक्रेनको पक्षमा एकजुट भएको कुरामा जोड दिन इच्छुक छन् । “जब रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबाट हुने खतराको सामना गर्ने कुरा आउँछ, एकतामा शक्ति हुन्छ”, बेलायती प्रधानमन्त्री ऋषि सुनकले भने । 

बिहीबार जेलेन्स्की ग्रानाडामा आइपुग्दा युरोपेली नेताहरूले यस्तो सन्देश दिनेछन् । यसै वर्षको सुरुमा जेलेन्स्की मल्दोभामा भएको इपीसीको दोस्रो बैठकमा पनि उपस्थित भएका थिए । 

जेलेन्स्कीले सबै सहयोगीहरूलाई थप सहयोग र सैन्य सहायता उपलब्ध गराउन अगाडि आउन आग्रह गर्ने अपेक्षा गरिएको छ । 

“जाडो याम नजिकिँदै गर्दा युक्रेनको मुख्य प्राथमिकता भनेको हवाई प्रतिरक्षालाई सुदृढ गर्नु हो, हामीले पहिला नै साझेदारहरूसँग नयाँ सम्झौताहरूको आधार तयार गरिसकेका छौँ र अब उनीहरूको अनुमोदन र कार्यान्वयनका लागि तत्पर छौँ”, जेलेन्स्कीले एक विज्ञप्तिमा भन्नुभयो, “यो युक्रेन र समग्र युरोपका लागि फलदायी दिन हुनुपर्छ ।” 

प्रकाशित मिति: बिहीबार, असोज १८, २०८०  २१:२५
प्रतिक्रिया दिनुहोस्