सिरहामा बस दुर्घटना : २ जनाको मृत्यु, २५ घाइते

आइतबार, असोज १४, २०८०

मिर्चैया– सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । अन्य २५ जना यात्रु घाइते भएका छन् ।

आइतबार दिउँसो सप्तरीको राजविराजबाट जनकपुरतर्फ आउँदै गरेको ना ४ ख ७१८७ नम्बरको यात्रुबाहक बस (स्प्रिङ) पट्टा भाँचिएर मिर्चैयामा दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो ।

ईलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार बसको पट्टा भाँचिएर मिर्चैयामा दुर्घटना हुँदा दुई जना पुरुषको घटनास्थलमै मृत्यु भएको छ भने २५ जना यात्रुहरू घाइते भएका छन् ।

प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले घाइते भएका उनीहरूको गोलबजारस्थित अस्पतालहरुमा उपचार भइरहेको जानकारी दिए । उनका अनुसार मृतक दुबैजनाको सनाखत हुन सकेको छैन । 

दुर्घटनाको विषयमा थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:०५
प्रतिक्रिया दिनुहोस्