वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउने

बुधबार, असोज १०, २०८०

काठमाडौँ— अब वाणिज्य बैंकहरुले दैनिक २० किलो सुन आयात गर्न पाउने भएका छन् । 

राष्ट्र बैंकले एकीकृत परिपत्रमा संशोधन गरेपछि बैंकहरुले दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी २० किलो सुन आयात गर्न पाउने भएका हुन् । 

हाल दैनिक १० किलोसम्म मात्रै सुन आयात गर्न पाउने व्यवस्था रहेकोमा यसलाई दोब्बर बनाइएको हो ।

राष्ट्र बैंकले जारी गरेको परिपत्रअनुसार मूल्यको दृष्टिकोणले मितव्ययी तथा लाभदायी हुने भएमा दैनिक निर्धारित सीमाको परिमाणमा नबढ्ने गरी आवश्यकता अनुरुपको मितव्ययी परिमाणमा एकमुष्ट रूपमा समेत सुन आयात गर्न सकिने छ । तर, यस्तो एकमुष्ट रूपमा आयात गर्दा आगामी दिनका लागि अग्रिम रूपमा आयात गर्न र व्यतित भएको कुनै महिनामा दैनिक आयात नभएको सुन अर्को महिनामा आयात गर्न भने नपाइने परिपत्रमा उल्लेख छ ।

नजिकिँदो चाडपर्वमा दैनिक १० किलोको कोटाले सुनको माग धान्न नसकिने भन्दै व्यवसायीहरुले आयातको कोटा बढाउन माग गर्दै आएका थिए । अहिले वाणिज्य बैंकहरुले पालैपालो सुन आयात गरेर व्यापारीहरुलाई बिक्री वितरण गर्दै आएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १९:२१
प्रतिक्रिया दिनुहोस्