आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार २४ विधामा वितरण गरिने

सोमबार, असोज ८, २०८०

काठमाडौँ– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिले आठौँ राष्ट्रिय लोक दोहोरी पुरस्कार प्रदान गरिने भएको छ । 

समितिद्वारा आज आयोजित पत्रकार सम्मेलनमा आगामी असोज ११ गते २४  विधामा वितरण गरिने जानकारी दिइयो । साथै, दीर्घ साधना सम्मानलगायत आठ अन्य विभिन्न विधामा पनि सम्मान प्रदान गरिनेछ । 

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान उपत्यका समन्वय समितिका अध्यक्ष अर्जुन थापामगरले पुरस्कार समग्र दोहोरी क्षेत्रसँग सम्बन्धित व्यक्तित्वहरुलाई प्रदान गरिने बताए । उपत्यका समन्वय समितिले विभिन्न आठ विधामा सम्मानित हुने व्यक्तित्वहरुको नामसमेत सार्वजनिक गरेको छ । 

‘लाइफ टाइम अचिभमेन्ट’ बाट कृष्णसुधा ढुङ्गानालाई, संस्थागत स्रष्टा सम्मानबाट राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष पुरुषोत्तम न्यौपानेलाई र एकनारायण भण्डारीलाई ‘दशक स्रष्टा सम्मान’ प्रदान गरिने अध्यक्ष थापामगरले जानकारी दिए ।

राजकुमार रायमाझीलाई लोक पत्रकारिता सम्मान, ‘बाबरी फूलको बोट’लाई सदाबहार लोकगीत सम्मान, कृष्ण आँसुलाई लोकदोहोरी कलाकार साँझ सम्मान र सपना रोकालाई लोकदोहोरी उपत्यका विशिष्ट सम्मान प्रदान गरिने भएको छ । लोकदोहोरी सम्मान विशेष सम्मान शिव हमाललाई प्रदान गरिनेछ । 

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १८:५९
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार