Nic Ad Nic Ad
Nic Ad Nic Ad
विचार

अमर्यादित अभिव्यक्तिले दिर्घकालमा हानी गर्छ, गल्तीबाट बालेनले सिकुन्

सोमबार, भदौ १८, २०८०

बिदाका दिन सरकारी गाड़ी चलाउन नपाइने नियम सिंहदरबारमा बस्नेहरूले खुशीसाथ बनाएका होइनन् ।

सरकारी प्रयोजनका गाड़ी पिकनिकदेखि बिहे र पारिवारिक भ्रमणदेखि नाइट क्लबसम्मका व्यक्तिगत प्रयोजनमा अत्यधिक दुरुपयोग भएको भन्दै व्यापक जनविरोध र गाड़ी नै तोड़फोड़ भएपछि बाध्य भएर यस्तो नियम ल्याइएको हो ।

अत्यावश्यक कामका लागि चलाउनु परे पास लिनुपर्ने व्यवस्था गरिएको छ । र, पनि दुरुपयोग रोकिएको छैन । फेरि गाड़ी चढ्नेहरू प्रायः उपल्लो ओहदाको हुने र धेरै केरकार गर्दा आफ्नो जागीर चट हुनसक्ने डरले पनि सामान्य सोधपुछको औपचारिकतापछि ट्राफिक प्रहरीले त्यस्तो गाड़ी छोडिदिने गरेका छन् ।

तर पनि पास लिनुपर्ने र चेकजाँचमा परिने डरले दुरुपयोग अलिकति कम भएको छ र वास्तवमैं चलाउनुपर्नेहरूलाई अलिकति अप्ठेरो समेत भएको छ । दुरुपयोग यतिसम्म छ कि साइरन बजाउँदै कुदेका एम्बुलेन्समा समेत बिरामी नभएर यात्री भएका घटना भेटिन्छन् । सरकारी विभाग र योजनाका गाड़ी आसेपासे र आफन्तका कब्जामा छन् । 

काठमाडौं महानगरको सरकारी गाड़ी पनि शनिवारका दिन रोकिएको रहेछ । गाड़ी नरोकिकन त्यसको यात्री र गन्तव्यबारे थाहा हुने कुरो भएन । अहिले ठूला दलका नेता र कार्यकर्तालाई मन नपरे पनि बालेनको क्रेज र सम्मान सर्वसाधारणमा उच्च छ । उनीसम्बद्ध गाड़ी भन्ने थाहा भएपछि छोड़िएको भन्ने बुझियो ।

उनको परिवारलाई अलिकति असहजता त पक्कै पनि भयो तर बिदाको दिन कुनै अर्को उपसचिबको गाड़ी व्यक्तिगत प्रयोगमा भेटिएको भए त्यो गाड़ी बालेनजत्तिको सजिलै छुट्ने थिएन भन्ने पनि नबिर्सौं । नियम त्यस्तै बनाइएको छ । 

सिंहदरबार चोरजस्तै छ, हाम्रा शासक चोरजस्तै छन् भन्नेमा प्रश्न गर्नपर्ने ठाउँ छैन तर बालेनको गाड़ी रोकिनु र सिहंदरबारबीच कुनै सम्बन्ध भने छैन । बालेनको धम्की र माग पूरा हुने हो भने के हुन्छ त रु सिंहदरबार त झन् त्यही चाहन्छ, जे बालेन चाहन्छन् । सिंहदरबार आफूमाथि, आफ्ना गाड़ी र त्यसमा चढ्नेप्रति कसैले प्रश्न  नउठाओस्, नरोकोस् भन्ने चाहन्छ । शासकहरू यही चाहन्छन् । रोकेको सिंहदरबारले होइन, नियमले हो । जुन नियम सिंहदरबारवालाहरूलाई पनि मन परेको छैन । 

अब रोकेर चेकजाँच गर्नेले अनेक आरोप र मानसिक यातना सहन पर्ने हो भने कसले रोक्ला ? हेर्दा सिंहदरबारप्रतिको आक्रोशजस्तो देखिएपनि यो त तिनकै इच्छालाई सहयोग गर्ने कदम हो । अब महानगरका गाड़ी रोकियो भने आगो लाग्ने भएपछि अरू गाड़ी पनि रोक्ने कुरो भएन । नरोकी र सोधपुछ नगरी त कुन गाड़ी कसको हो भन्ने चिनिन्न ।

बालेनले चाहेको के होला ? यो बिदाको दिन गाड़ी चलाउन नपाइने नियम हटाउन चाहेको हो भने त्यही व्यहोराको आबाज उठाउनुपर्ने हो । यो नियमले अलिकति दुरुपयोग र भ्रष्टाचार रोकेको होला, तर कतिपय अवस्थामा अव्यावहारिक जस्तो पनि देखिन्छ ।

यदि यो हटाउने इच्छा हो भने आगो लगाउनै पर्दैन, बालेनको साथ हुने हो भने तिनको हड्डी हाँसेर त्यो नियम बदलिन्छ । होइन, नियम जे भए पनि आफ्नो र आफ्नो निकायको मात्रै नरोकियोस् भन्ने चाहना पक्कै नहोला । के हो त उनको चाहना भन्ने स्पष्ट धारणासहित धम्की आएको भए पनि हुने ।

मानवीय संवेदनाका कुरा अलग होलान्, तर बिदाका दिन सरकारी गाड़ी निजी प्रयोजनका लागि प्रयोग भएको र त्यो अहिलेको नियममुताबिक गलत भएको त सत्य हो नि । 

उपप्रधानमन्त्री पद गुमाउँदा रवि लामिछानेजीले मिडियाप्रति व्यक्त गरेको अमर्यादित आक्रोश, बालेनको अदालतलाई नमान्ने सार्वजनिक अभिव्यक्ति र आगो लगाउने धम्कीलाई जसले समर्थन गरेर, उकासेर जयगान गर्नुभएको छ, उहाँहरूले गुन लगाएको जस्तो लागे पनि यसले दीर्घकालमा हानि नै पुग्ने हो ।

माया गर्नुहुन्छ र सम्भावना देख्नुहुन्छ भने बाटो बिराउँदा सतर्क गराउने पहिलो जिम्मा तपाईंकै हुनुपर्ने हो । निजी सचिबालयमा हुनेहरूले समेत यसप्रति ध्यान नपुऱ्याएको देख्दा खिन्न लाग्ने रहेछ । 

सपनाहरूमा ठेस लाग्दा दुख्छ । मन खिन्न हुन्छ । तर गल्तीहरू दोहोरिरहे भने मात्रै हो समस्या हुने । यो खिन्नता अस्थायी होस्, गल्तीहरू सिकाइ बनून् र हाम्रा सपनाहरू नओइलाऊन्, अहिलेलाई यत्ति  वर्तमान नेताहरू झन् बढ़ी गल्ती गर्छन्, भ्रष्ट छन्, खराब छन्, बालेन तीभन्दा असल छन् भन्ने तर्क गर्दै गाली गर्न नआउनुहोला ।

(लेखक नारायण गाउँलेको फेसबुक वालबाट )

प्रकाशित मिति: सोमबार, भदौ १८, २०८०  १३:४३
प्रतिक्रिया दिनुहोस्