घरको आँगनबाट अजिङ्गर उद्धार

सोमबार, भदौ ४, २०८०

जानकी– बाँकेको राप्तिसोनारी गाउँपालिका–८ बालापुरबाट अजिङ्गरको उद्धार गरिएको छ ।

स्थानीयवासी लौटन चौधरीको घरको आँगनबाट आज करिब १० फिट लम्बाइ भएको १२ केजी तौलको अजिङ्गर उद्धार गरिएको बाँके राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्याम शाहले जानकारी दिए । 

उनका अनुसार स्थानीयवासी चौधरीको घरको आँगनबाट खेतबारीमा जाँदै गरेको अजिङ्गरलाई निकुञ्जमा कार्यरत गेम स्काउट गोपालजङ्ग चन्दले जीवितै उद्धार गरेर निकुञ्जको कोर क्षेत्रमा छाडिएको छ । 

“हामीले उद्धार गर्ने अजिङ्गरलाई निकुञ्जको कोर क्षेत्रमा छाड्ने गर्दछौँ । आज उद्धार गरिएको अजिङ्गरलाई पनि उद्धार टोलीले सोही क्षेत्रमा छाडेको छ”, उनले भने, “बाँकेको अन्य क्षेत्रमा अजिङ्गर फेला परे पनि वडा नं ८ मा रहेका गाउँहरू निकुञ्जसँग जोडिएकाले यहाँ प्राय अजिङ्गर भेटिन्छन् ।” 

यो आर्थिक वर्षको साउनदेखि भदौसम्ममा सोही वडाको खल्लागाउँ, ओभरी, शम्शेरगञ्ज र बालापुर गरी चार वटा गाउँबाट अजिङ्गरको उद्धार गरिएको अधिकृत शाहले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्ष २०७९र०८० मा १२ विभिन्न स्थानबाट १२ अजिङ्गरको उद्धार गरिएको थियो । 

बाँके राष्ट्रिय निकुञ्जमा सर्प उद्धारका लागि तालिम प्राप्त व्यक्ति नभए पनि विगत आठरनौ वर्षदेखि काम गरेको अनुभवकै आधारमा गेम स्काउट गोपालजङ्ग चन्दले नै सर्पको उद्धार गर्दै आइरहेका छन् ।

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १९:१६
प्रतिक्रिया दिनुहोस्