आन्तरिक राजश्व कार्यालय भरतपुरको ६० करोड बढी बक्यौता

बिहीबार, साउन ३२, २०८०

चितवन– आन्तरिक राजस्व कार्यालयराजस्व कार्यालय भरतपुरको गत आर्थिक वर्षमा रु ६० करोड ६१ लाख बक्यौता राजस्व उठाउन बाँकी रहेको छ ।

कार्यालयले आयकर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क बापत सो रकम उठाउन बाँकी रहेको हो ।

कार्यालयका कर अधिकृत विष्णु रावतका अनुसार आयकरतर्फ रु १७ करोड ६१ लाख, मूल्य अभिवृद्धि करतर्फ रु ३८ करोड ५१ लाख र अन्तःशुल्कतर्फ रु चार करोड ६४ लाख बक्यौता उठाउन बाँकी रहेको छ । यस कार्यालयमा दर्ता भएका करदता मध्ये एक सय छ जना करदाताबाट सो रकम उठाउन बाँकी रहेको छ ।

विगत तीन वर्षदेखि कर नतिर्ने करदाताहरूबाट बक्यौता असुलीका लागि कार्यालयले करदाताको नाम सार्वजनिक गरेको छ । एक सय छ जनाको नाम पत्रिकामार्फत सार्वजनिक गरिएको उनले बताए । उनले भने, “नाम सार्वजनिक भएसँगै करदाताहरू सम्पर्कमा आएका छन् ।”

कार्यालयले टेलिफोन सम्पर्क गर्ने, पत्राचार गर्ने करदताकोमा सङ्कलन भ्रमण गर्ने र ताकेता गर्नेलगायतका काम गर्दा समेत बक्यौता रकम तिर्न नआएपछि उनीहरूको नाम सार्वजनिक गरिएको उनले बताए । उनका अनुसार नाम सार्वजनिक भएसँगै १५ जना करदाता बाहेक अन्य सम्पर्कमा आएका छन् । सम्पर्कमा नआएका करदातालाई कानूनी कारवाहीका लागि नेपाल राष्ट्र बैंकमा पत्राचार गरिएको उनले जानकारी दिए ।

सम्पर्कमा नआएका करदातामध्ये आयकरका आठ जना र मूल्य अभिवृद्धि करका सात जना रहेका छन् । उनीहरूको बैंक खाता रोक्काका लागि प्रक्रिया अघि बढाइएको उनले जानकारी दिए । 

कार्यालयमा गत आर्थिक वर्षमा व्यक्तिगत खाता नम्बर (पान) लिने एक लाख ४४ हजार दुई सय ९८ जना र व्यावसायिक पान लिने ६८ हजार पाँच सय ९० जना करदाता रहेका छन् । कार्यालयले गत आर्थिक वर्षमा रु २० अर्ब ४७ करोड पाँच लाख ९७ हजार राजश्व सङ्कलन गरेको छ ।
 

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  १९:१४
प्रतिक्रिया दिनुहोस्