खेल्न पाउँदा लामो समय बाँच्छ कुकुर

बुधबार, साउन ३१, २०८०

एजेन्सी - सामाजिक अन्तक्रिया मानिसको स्वास्थ्यका लागि फाइदाजनक छ । नयाँ अध्ययनले कुकुर स्वस्थ्य राख्न र आयु बढाउन पनि यो आवश्यक रहेको देखाएको छ । 

‘हामी जहाँ बस्छौ र अन्तक्र्रिया गर्छौ । त्यसको साँच्चै हाम्रो स्वास्थ्यमा राम्रो प्रभाव रहन्छ,’ अरिजना स्टेट युनिभर्सिटीअन्तर्गत स्कुल अफ लाईफ साइन्सेसका उपप्राध्यापक नोहा स्नाइडर म्याकलर भने,‘हाम्रो स्वास्थ्य र सामाजिक वातावरणको यो सम्बन्ध धेरै सामाजिक जनावरहरुमा पनि बिस्तार हुन्छ । तसर्थ, राम्रो सामाजिक रुपमा धेरै घुलमिल हुने जनावर लामो समय बाँच्छन् । कुकुरहरु मानिस वा अन्य कुकुरसँग खेल्‍न रुचाउँछन् ।’

इभोलुसन मेडिसिन एन्ड पब्लिक हेल्थमा प्रकाशित यस अनुसन्धानका दौरान २१ हजारभन्दा धेरै कुकुर पालकहरुसँग कुराकानी गरिएको थियो । र, जसले धेरै समय दिन्छन्, जसले कुकुरसँग खेल्छन्, उनीहरुका जनावर धेरै बाँचेको देखियो । यो अध्ययन डग्स एजिङ प्रोजेक्टको एक हिस्सा हो । राष्ट्रिय तथा निजी दाताहरुको सहयोगमा सञ्चालित यस संस्थाले ठूलो स्तरमा अध्ययन गर्दै आएको छ ।

घुमाउन लैजाने, खेलौना खेल्न दिने, कुकुरसँगै खेल्ने, माया गर्ने, मसाज गरिदिने, नयाँ–नयाँ खानेकुराहरु ल्याइदिनेलगायत गरेर कुकुरलाई खुसी राख्न सकिन्छ । 

जिन, जीवनशैली र वातावरणीय प्रभावले कसरी कुकुरमा बुढ्यौलीको प्रक्रिया र रोगहरु सिर्जना गर्छ भनेर अध्ययन गर्नु नै यस अनुसन्धानको लक्ष्य हो । यसले मानव स्वास्थ्यमा पनि सहयोग पुर्‍याउने अनुसन्धानकर्ताहरु बताउँछन् ।

‘कुकुर हाम्रो नजिकको साथी हो र जीवनका धेरै पक्षमा हामीसँग नजिक रहन्छ,’ अध्ययन प्रतिवेदनका सहलेखक ब्रायना म्याकोयले भने,‘सामाजिक वातावरणले कसरी कुकुरको स्वास्थ्यमा असर गर्छ भनेर गरिएको यो अध्ययन मानव स्वास्थ्यका लागि पनि सन्दर्भिक छ ।’ 

अध्ययनका क्रममा कुकुर पालकहरुलाई शारिरीक सक्रियता, वातावरण, कुकुरको व्यवहार, डाइट, औषधिलगायत विषयमा सोधिएको थियो । 

सबै कुकुरहरुको रुची एउटै हुँदैन । कतिपय कुकुर सामाजिक रुपमा घुलमिल हुन रुचाउँदैनन्  । ‘कुुकुर कत्तिको घुलमिल हुने खालको छ भन्ने विषयले पनि निर्धारण गर्छ । केही कुकुरहरु अत्यधिक घुलमिल हुनुपर्दा तनाव महसुस गर्छन्,’ युनिभर्सिटी अफ पेन्सिलभेनिया स्कुल अफ भेटेरिनरी मेडिसिनअन्तर्गत पेन भेट वर्किङ डग सेन्टरका अनुसन्धानकर्ता क्लारा विल्सनले भने । 

भर्जिनिया मेरील्यान्ड कलेज अफ भेट मेडकाअनुसन्धानकर्ता कर्टनी सेक्सटन आफ्नो कुकुरले अन्य कुकुरसँग खेल्नभन्दा बल खेल्न रुचाउँने बताउछिन् । ‘कुकरको रुचीअनुसार हुन्छ । मेरो कुकुर अन्य कुकुरसँग खेल्नभन्दा बल वा मेरा परिवारका सदस्यसँग खेल्न रुचाउँछन्,’ उनले भनिन् । 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १३:२८
प्रतिक्रिया दिनुहोस्