२२ हजार प्रहरीले दिए सरुवाको निवेदन

सोमबार, साउन २९, २०८०

काठमाडाैं - नेपाल प्रहरीले कार्यालय प्रमुखका रूपमा सरुवामा नयाँ मापदण्ड बनाएको छ ।

नयाँ मापदण्ड बनेसँगै लामो समयदेखि रोकिएको सरुवा अघि बढाउन लागिएको छ । प्रहरी निरीक्षक (इन्स्पेक्टर)देखि प्रहरी उपरीक्षक (एसपी)सम्मको सरुवामा नयाँ मापदण्ड बनाइएको हो । गृह मन्त्रालयले केही दिनअघि स्वीकृत गरेको नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ । यसअघि क र ख गरी दुई मात्र श्रेणी भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको प्रहरी प्रवक्ता डिआइजी कुवेर कडायतले बताए ।

मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि ‘क’मै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्काे कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन् । सरुवालाई निष्पक्ष र वस्तुनिष्ठ बनाउन मापदण्डमा केही संशोधन गरिएको र संशोधन भएलगत्तै सबै तहका सरुवाको प्रक्रिया अघि बढेको प्रवक्ता कडायतले बताए ।

प्रहरीमा लामो समयदेखि नियमित सरुवा अवरुद्ध छ । गत चैतमा मापदण्डविपरीत काजमा ठूलो संख्यामा प्रहरी निरीक्षकलाई कार्यालय प्रमुखका रूपमा खटाइएको थियो । नयाँ मापदण्डअनुसार त्यो काजसरुवा संशोधन हुने प्रवक्ता कडायत बताउँछन् । इन्स्पेक्टर, डिएसपी, एसपी र एसएसपीको सरुवामा अत्यधिक चलखेल हुने गरेको छ । सोही चलखेलले पनि सरुवा लम्बिएको हो । प्रहरी प्रधान कार्यालयले तल्लो तहको सरुवाका लागि पनि नयाँ मापदण्ड बनाउने तयारी गरेको छ ।

सरुवाका लागि प्रहरी प्रधान कार्यालयमा २२ हजार प्रहरीले लिखित निवेदन दिएका छन् । प्रहरी नेतृत्वले सरुवाका लागि लिखित निवेदन अनिवार्य गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  ०८:०९
प्रतिक्रिया दिनुहोस्