पत्नीको कथ्यः इमरान धेरै महिलासँग यौन सम्पर्क राख्‍न रूचाउँछन्

सोमबार, साउन २२, २०८०

एजेन्सीअहिले तोशाखाना प्रकरणमा पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान जेलमा छन् ।

पाकिस्तानका कार्यकारीले विदेशी अतिथीहरुबाट प्राप्त उपहारलाई तोशाखाना (राष्ट्रिय खजाना) मा जम्मा गर्नुपर्ने कानुन छ । तोशाखानाबाट लिलामी प्रक्रियामार्फत ती उपहार किन्‍न भने सकिनेछ । इमरानमाथि प्रधानमन्‍त्री छँदा कानुन परिवर्तन गरेर तोशाखानाबाट सस्तोमा उपहार किन्‍ने र महँगोमा बेच्ने गरेको आरोप छ । यस भ्रस्टाचार मुद्दामा  लाहोर अदालतले दोषी ठहर गरेसँगै उनी जेलमा गएका हुन् ।

इमरान खान पाकिस्तानकै सबैभन्दा ठूला सेलिब्रेटी मध्य एक हुन् । खेलाडी र राजनीतिज्ञका रूपमा उनले धेरै विवादको सामना गर्नुपर्‍यो ।

युवाअवस्थामा इमरान पढ्नका लागि बेलायत गएका थिए । त्यहाँ काउन्टी क्रिकेटमा गरेको उत्कृष्ट प्रदर्शनले उनलाई चर्चामा ल्यायो । यही समय लण्डनका नाइटक्लबमा उनी सुपर मोडलहरूसँग भेटिन्थें । पार्टीमा रमाएर आफ्नो क्षमताअनुसार खेल्‍न नसकेको आरोप पनि उनीमाथि लाग्‍ने गरेको थियो । तर ती आरोपहरूलाई चिर्दै उनले आफ्नो कप्तानीमा सन् १९९२ पाकिस्तानलाई विश्‍वकप क्रिकेटको उपाधि जिताए । यतिबेला इमरानको उमेर ३९ वर्ष पुगिसकेको थियो । तर उनी अविवाहित थिए ।

अस्ट्रेलियाको मेलवर्नमा सम्पन्‍न उक्त विश्वकपको फाइनलमा इमरानले इङल्यान्डविरूद्ध ७२ रन बनाउँदै एक विकेट समेत लिएका थिए ।

इमरानले ४२ वर्षको उमेरमा १९९५ मा विवाह गरे । उनीसँग विवाह गर्दा बेलायती पत्रकार, लेखिका तथा टेलिभिजन प्रस्तोता जेमिमा गोल्डस्मिथको उमेर २१ वर्षमात्रै थियो । यो जोडीका दुई सन्तान छन् : सुलेइमान इसा (जन्म १९९६र कासिम ( जन्म १९९९)

सन् २००४ जेमिमा र इमरानबीच डिभोर्स भयो ।

इमरानले २०१५ मा बेलायती टिभी प्रस्तोता रेहमसँग विवाह गरे । तर, १० महिना पनि यो सम्बन्ध टिकेन । रेहमले त्यसयता पुस्तक निकाल्दै इमरानमाथि धेरैखाले आरोप लगाएकी छिन् । त्यसमध्येको एउटा आरोप हो : इमरान धेरै महिलासँग यौन सम्पर्क राख्‍न रूचाउँछन् र उनी कोकिनका अम्मली हुन् ।'

इमरानले पाकिस्तानको प्रधानमन्‍त्री हुनभन्दा ६ महिनाअघि सन् २०१८ मा बुस्रा बिबीसँग विवाह गरे । यो इमरानको तेस्रो र बुस्राको दोस्रो विवाह थियो । उनले एक वर्षअघि मात्रै आफ्ना पति खाबर मनेकासँग डिभोर्स गरेकी थिइन् । खाबर र बुस्राका ५ सन्तान छन् ।

यी महिला कट्टर धार्मिक प्रकृतिकी छिन् ।

रेखासँग पनि जोडिएको थियो नाम

जवानीमा धेरै युवतीहरूसँग इमरान खानको नाम जोडियो । त्यसमा बलिउडका स्टार अभिनेत्रीहरूको नाम पनि समावेश छ । क्रिकेट खेल्न होस् वा अन्य कार्यक्रममा आउँदा, भारतमा उनी सधैं चर्चामा रहन्थें ।

मिडिया रिपोर्टस् अनुसार मुम्बईका समूद्री किनार, क्रिकेटका कार्यक्रम र नाइटक्लबमा पनि बलिउड अभिनेत्री रेखा र इमरान एकसाथ भेटिन्थें । विवाहको हल्ला चलेपछि यसबारे इमरानले स्पष्टीकरण नै दिएका थिए । ''अभिनेत्रीहरुको साथ छोटो समयका लागि राम्रो हुन्छ । म केही समय उनीहरूको साथको मज्जा लिन्छु र अघि बढ्छु । म अभिनेत्रीसँग विहे गर्ने कुरा सोच्न सक्दिँन,'' उनले भनेका थिए ।

बलिउड अभिनेत्री सवाना आज्मीसँग पनि इमरानको नाम जोडिएको थियो । तर यसबारे दुबैले कहिल्यै सार्वजनिक रूपमा बोलेनन् । अर्की अभिनेत्री जिनत अमानसँग पनि उनको नाम जोडिएको थियो । नोभेम्बर १९७९ मा पाकिस्तानी टिम भारत आएका बेला इमरानले आफ्नो २७ औं जन्मदिन ड्रेसिङ रूममै साथीहरूसँग मनाएका थिए । त्यही दिन उनी जिनतसँग पनि डेटमा गएको गसिप भारतीय सञ्चारमाध्यममा छापिएको थियो ।

प्रकाशित मिति: सोमबार, साउन २२, २०८०  १४:१७
प्रतिक्रिया दिनुहोस्